Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

दशैं लक्षित बजारमा बढ्याे चहलपहल, उपभोक्ता भन्छन्- महँगी बढ्यो

दशैं लक्षित बजारमा बढ्याे चहलपहल, उपभोक्ता भन्छन्- महँगी बढ्यो

काठमाडाैं, २१ असाेज । बिहिबार घरघरमा घटस्थापनासँगै यस वर्षको बडादशैं शुरु भएको छ । मुलुकमा व्याप्त आर्थिक सुस्ती, उपभोग्य वस्तुको उच्च मूल्यवृद्धि तथा कृत्रिम अभाव र क्रयशक्तिमा आएको ह्रासले यस वर्षको दशैं धेरै नेपालीका लागि सहज बन्न नसक्ने देखिएको छ ।

यता मनसुन बाहिरन नसक्दा लगातारको वर्षाले आएको बाढि र पहिरोबाट आम मानिसको जनजिवन प्रभावित बनेको छ । दशैंका लागि अग्रीम टिकट बुकिङ खुले पनि यात्रुको भिडभाड व्यवस्थापनमै चुनौती भएको छ । त्यसमा पनि बर्खामा बिग्रिएको सडक मर्मत सुधार हुन नसक्दा यस वर्षको दशैंमा यात्रा कष्टकर बन्ने निश्चित छ । साथै बाढी–पहिरोका कारण राजमार्ग बन्द भएपछि हवाई टिकट समेत महँगिदा यात्रुहरु समस्यामा परेका छन् ।

दशैंका बेला हुन सक्ने कालोबजारी, कृृत्रिम अभाव, ठगी र अस्वाभाविक मूल्य वृद्धि नियन्त्रणका लागि सरकारी निकायले अनुगमन गरे पनि प्रभावकारी हुन सकेको छैन । यद्यपी उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छन । यस्ता पसल सञ्चालन हुनु सकारात्मक भए पनि सीमित ठाउँमा मात्र सञ्चालन हुँदा लक्षित वर्गले अपेक्षित लाभ लिन सकेका छैनन् ।

मागमा आएको कमी र उपभोक्ताको क्रयशक्तिमा आएको ह्रासले यस वर्षको दशैं सर्वसाधारण मात्र होइन, व्यापारी व्यवसायका लागि समेत सुखद देखिएको छैन । उपभोक्ताहरुले हरेक सामान विगतको तुलनामा महँगो रहेको गुनासो गरेका छन् । हरेक वर्ष चाडपर्व आएसँगै बजारमा कपडा,जुत्ता,चप्पल लगायतका समानको मूल्य वृद्धि हुँदा उपभोक्ता महँगीको मारमा पर्ने गरेका छन् ।

व्यापारीहरुले पनि गत वर्षको तुलनामा २० प्रतिशतसम्म बजार मूल्य बढेर आएको भन्दै सामग्रीहरु महँगो भएको स्वीकार गरेका छन् । सामान्य अवस्थाको दशैंमा वार्षिक व्यापार व्यवसायको ४० प्रतिशतसम्म हुने गरेकोमा यस वर्ष विगतको तुलनामा ७५ प्रतिशत व्यापार कम भएको व्यापारीहरुको गुनासो छ । काठमाडौंका असन, इन्द्रचोक जस्ता प्रमुख व्यापारिक क्षेत्रमा मानिसको चहलपहल भए पनि विक्री भने निकै कम रहेको बताइएको छ ।

समग्रमा यस वर्षको दशैं आम सर्वसाधारणदेखि व्यापारी व्यवसायीका लागि समेत उत्साहप्रद हुन सकेको छैन । यद्यपि हाम्रो धर्म, संस्कृति, परम्परा र जीवनशैलीकै महत्वपूर्ण पक्ष भएकाले दशैंलाई कम खर्चिलो, मितव्ययी र आफ्नो गच्छेअनुसार मनाइनुको विकल्प छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x