प्रधानमन्त्री ओलीले एससिओ प्लस सम्मेलनमा सम्बोधन शुरू गरे

काठमाडाैं, १६ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा सुरु भएको शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ।
सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली भदौ १४ गतेदेखि पाँच दिने भ्रमणको लागि चीनमा पुगेका हुन्।
प्रधानमन्त्री ओलीले सम्मेलनका क्रममा विभिन्न मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता पनि गर्दैछन्। आजै उनी रूसी राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ।
यस शिखर सम्मेलनमा सहभागी देशहरूले क्षेत्रीय सहयोग, व्यापार, सुरक्षा र रणनीतिक साझेदारीका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री ओलीको उपस्थितिले नेपालको क्षेत्रीय कूटनीतिक गतिविधि र अन्तर्राष्ट्रिय सम्बन्धमा सक्रिय भूमिकालाई झल्काउने विश्लेषकहरूले बताएका छन्।