ऊर्जा मन्त्री खड्काका १०० दिने उपलब्धिः ९८ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको दावी
काठमाडौं, ७ कार्तिक । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारको १०० दिनमा ९८ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको दावी गरेका छन्। आफ्नो एक सय दिनको कार्यप्रगति सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले मन्त्रालयको नीति,योजना तथा कार्यक्रम र गतिविधिहरूलाई प्रभावकारी रुपमा अगाडि बढाइएको र लक्ष्य अनुसार सय दिनमा ९८ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको दावी गरेका हुन्।
यसबीचमा आएको बाढी र पहिरोपछि उद्दार राहत तथा विद्युत आपूर्तिलगायतका सेवा पुर्याउनुपर्ने क्षेत्रमा ध्यान केन्द्रीत गरेकाले लक्ष्य अनुसारको अन्य कामहरू चाँडै सम्पन्न हुने उनले बताए।
यस्ता छन् उनले १०० दिनमा सार्वजनिक गरेका ऊर्जा तर्फका उपलब्धिहरूः
–२०२३ देखि २०३५ सम्म गर्नुपर्ने काम समेटेर ऊर्जा विकास मार्गचित्र २०८१ तयार गरी मन्त्रिपरिषदमा पेस गरिएको।
–जलस्रोत तथा सिँचाइमा अध्ययन तथा अनुसन्धानका लागि मापदण्ड तयार गरिएको तथा निर्माण कार्यको मापदण्ड तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गरिएको।
–जल तथा मौसम विज्ञान नीति २०८१ स्वीकृत गरी कार्यान्वयन ल्याइएको।
–बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने गरी समझौतामा हस्ताक्षर गरिएको।
–आउँदो सुख्खायामको विद्युत मागलाई स्वदेशी उत्पादनले अपुग हुने भएकाले र भारतको एक्सचेन्ज बजारमा मात्र निर्भर हुन नसकिने भएकाले ढल्केबर मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट २०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ३० मेगावाट बिजुली आयात गर्ने गरी नेपाल विद्युत प्राधिकरण र भारतको विद्युत व्यापार कम्पनी एनभिभिएनबीच विद्युत खरिद सम्झौतामा हस्ताक्षर भएको।
–२२०/१२३/३३ केभी चिलिमे हब जिआइएस सबस्टेशन र २२०/१३२/३३ केभी त्रिशूली हब हाइब्रिड जिआइएस सबस्टेशन निर्माण सकेर सञ्चालनमा ल्याइएको।
–मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट बाह्रबिसे सबस्टेशनसम्मको ४ किमीको २२० केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण सकिएको।
–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन र ढल्केवर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन एवं १३२/३३/११ केभी सबस्टेसन (८२.५ एमभिए) निर्माण सम्पन्न भई सञ्चालनमा आएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन (२८.१ किमी, डबल सर्किट मल्टिपल सर्किट) को निर्माण।
–थप २३४।५ एमभिए क्षमताको (बुर्तिवाङ ४६ एमभिए बाग्लुङ) पौडीअमराई ४६ एमभिए, गुल्मी लोहारपट्टी ८२.५ एमभिए महोत्तरी, मलेखु ६० एमभिए धादिङ) नयाँ सबस्टेशनहरूको निर्माण कार्यलाई तीव्रता दिइएको।
–रसुवा जिल्लास्थित १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, सिन्धुपाल्चोक जिल्लास्थित १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजना र रसुवा जिल्ला स्थित ४२।५ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा ल्याउने कार्य अन्तिम चरणमा रहेको।
-सोलुखुम्बु जिल्लास्थित १२ मेगावाट क्षमताको दूधकुण्ड खोला, म्याग्दी जिल्ला स्थित ३८ मेगावाट क्षमताको निलगिरी खोला, सिन्धुपाल्चोक जिल्लास्थित ९९० किलोवाट आवर क्षमताको सेलांड खोला साना जलविद्युत आयोजना कास्की जिल्लास्थित २५ मेगावाट क्षमताको सेतीनदी लगायतका जलविद्युत आयोजनाहरू सञ्चालनमा ल्याई राष्ट्रिय प्रसारण ग्रिडमा आबद्ध गरिएको।
-गोरखा जिल्लास्थित १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण सुरू गर्न सुपरभिजनका लागि आवश्यक पर्ने परामर्शदाता छनौट, लागत अनुमानसम्बन्धी कागजातहरू तयार भइरहेको एवं आयोजनाको निर्माण प्रारूप टुंग्याउने प्रक्रिया प्राथमिकताका साथ अघि बढाइएको।