पाल्पा बगनासकाली गाउँपालिकाले शुरु गर्यो शैक्षिक प्रमाण पत्र धितोमा ऋण प्रवाह
पाल्पा ३० असार । सरकारले आगमी आर्थिक बर्ष २०७५ । ०७६ मा शैक्षिक प्रमाणपत्र धितो राखेर बेरोजगार युवालाइ ऋण दिने ब्यवस्था गरेसगै नयाँ आर्थिक बर्ष सुरु नहुँदै पाल्पमा बेरोजार युवालाइ शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण दिन सुरु गरिएको छ ।
पाल्पा बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको सुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन सुरु गरेको हो । बगनासकाली युवा कृषक समूह वडा २ र ३ लाई कृषि तथा पशुपालनका लागि चार लाख रुपैयाँ ऋण प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । गाँउपालिकाले बगनासकाली–२ का युवा समूहका भगवान गैरे र दुर्गा पाण्डेले लेयर्स कुखुरापालनका लागि एक लाख रुपैयाँ ऋण दिएको छ ।
त्यस्तै सचिना अधिकारी र अमृता पाण्डेले स्थायी प्लाष्टिक घर निर्माण गरी तरकारी तथा माछापालनका लागि एक लाख रुपैयाँ ऋण दिएको छ । यस्तै बगनासकाली–९ का हरिप्रसाद बस्याललाई बाख्रापालनका लागि एक लाख रुपैयाँ ऋण गाउँपालिकाले उपलब्ध गराएको छ ।
युवा लक्षित युवा स्वरोजगार (कृषि विकास, पशु सेवा) कार्यक्रम सञ्चालनका लागि चालू वर्षमा विनियोजित रकमबाट ऋण उपलब्ध गराइएको गाँउपालिकाले जनाएको छ ।