ढाकामा ‘नेपाल र बंगलादेशबीचको व्यापार र लगानी सम्बन्ध’ विषयक कार्यशाला सम्पन्न
काठमाडौं, १७ माघ । ढाकास्थित नेपाली दूतावासले ‘नेपाल र बंगलादेशबीचको व्यापार र लगानी सम्बन्ध’ विषयक कार्यशाला आयोजना गरेको छ। कार्यक्रममा राजदूत घनश्याम भण्डारीले नेपाल र बंगलादेशबीच बढ्दो आर्थिक सम्बन्धका बारेमा प्रकाश पार्दै व्यापार, कनेक्टिभिटी, ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा भएको प्रगतिबारे प्रकाश पारे ।
नेपालबाट बंगलादेशमा पहिलो पटक ४० मेगावाटको जलविद्युत प्रवाह भएको उल्लेख गर्दै उनले ऊर्जा सहयोगले दुई देशलाई मात्र नभई सम्पूर्ण दक्षिण एसिया क्षेत्रलाई पारस्परिक लाभ हुने कुरामा जोड दिए। उनले बंगलादेशी व्यवसायी नेताहरूलाई नेपालको व्यापार समुदायसँग समन्वयात्मक साझेदारी निर्माण गर्न र नेपालमा उपलब्ध लगानीका अवसरहरूको सदुपयोग गर्न पनि आग्रह गरे।
कार्यक्रममा विशेष अतिथिका रुपमा बोल्दै लगानी बोर्डको कार्यालय नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको लगानीको वातावरण, अवसर र प्राथमिकताका क्षेत्रका बारेमा बृहत् प्रस्तुति दिएका थिए । उनले ऊर्जा, पर्यटन, कृषि, सूचना तथा सञ्चार प्रविधि, सहरी पूर्वाधार, स्वास्थ्य, उत्पादन र खानी तथा खनिजजस्ता प्राथमिकताका क्षेत्रमा विदेशी प्रत्यक्ष लगानी आकर्षित गर्न अनुकूल वातावरण सिर्जना गर्न नेपालको रणनीतिक पहलहरू उल्लेख गरे।
बंगलादेश लगानी विकास प्राधिकरणका कार्यकारी सदस्य डा खान्दोकर अजिजुल इस्लामले बंगलादेशको लगानी प्राथमिकताका बारेमा छलफल गर्दै पारस्परिक लाभका क्षेत्रमा लगानी सम्बन्धलाई सुदृढ गर्न नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेशनल बैंक लिमिटेडका अध्यक्ष तथा बंगलादेश चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एफबीसीसीआई)का पूर्व अध्यक्ष अब्दुल अवल मिन्टुले नेपालमा व्यापार गर्ने आफ्नो दृष्टिकोण राख्दै दुई देशबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउनुपर्ने आवश्यकतामा जोड दिए ।
कार्यक्रममा बंगलादेशका प्रतिष्ठित व्यापारी नेताहरू लगायत बंगलादेश चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एफबीसीसीआई) र ढाका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (डिसीसीआई) का प्रतिनिधिहरूकाे सहभागिता रहेकाे थियाे ।