भीपीएन प्रयोग गरी मोबाइल तथा इन्टरनेट बैंकिङ चलाउन नपाइने

काठमाडौं, २३ फागुन । नेपाल राष्ट्र बैंकले भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गरी मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा चलाउन प्रतिबन्ध लगाएको छ । यस सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गरी निर्देशन दिइएको छ ।
राष्ट्र बैंकले ग्राहकले मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ प्रयोग गर्दा भीपीएन प्रयोग गरेको वा नगरेको पहिचान गरी, आधिकारिक भीपीएन प्रयोग नभएमा एपमा लगइन गर्न नदिने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । यसका साथै भुक्तानी सेवा प्रदायक संस्थाहरूले कम्तीमा दुई वर्षमा एक पटक डेटा सेन्टरमा हुन सक्ने जोखिम र त्यसको सुधारको परीक्षण (डिजास्टर ड्रिल) गरी केन्द्रीय बैंकमा प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
साथै, भुक्तानी सेवा प्रदायक संस्थाहरूले सूचना प्रविधि विभागबाट सूचीकृत भएका संस्थासँग मात्र डेटा सेन्टर राख्न पाउने व्यवस्था लागू गरिएको छ । यसका साथै इन्टरनेटविनाको ‘युएसएसडी बेस्ड पेमेन्ट सिस्टम’ सेवाबाट कारोबार गर्ने दैनिक सीमा अधिकतम १० हजार र एक पटकमा ५ हजारभन्दा बढी कारोबार नहुने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले एउटै खाताबाट एकै प्रकृतिको (डेबिट, क्रेडिट वा प्रिपेड) एकभन्दा बढी कार्ड जारी गर्न नपाइने व्यवस्था पनि लागू गरेको छ । यसका साथै, भुक्तानी सेवा प्रदायक कम्पनीहरूले ग्राहकलाई विद्युतीय कार्ड जारी गर्दा आवेदन फारमसँगै कार्डको शुल्क, कारोबार सीमा, ब्याजदर तथा अन्य सुविधासम्बन्धी सूचनामूलक सामग्री अनिवार्य रूपमा प्रदान गर्नुपर्ने व्यवस्थालाई हटाएको छ ।