Date

बुध, बैशाख ३, २०८२
Wed, April 16, 2025

ट्रम्पको व्यापार नीति: पेट्रोलियम बजारमा भूचाल, रूस र चीन दबाबमा

ट्रम्पको व्यापार नीति: पेट्रोलियम बजारमा भूचाल, रूस र चीन दबाबमा

काठमाडाैं, २७ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ निर्णयले विश्व अर्थतन्त्रमा हलचल ल्याइरहेको छ। आयातमा लगाइएको शुल्कले विश्वव्यापी व्यापार मन्दीको संकेत दिँदै गर्दा पेट्रोलियम बजारमा पनि ठूलो गिरावट आएको छ। यसले तेल तथा ग्यासको मूल्यलाई विगत चार वर्ष यताकै न्यून बिन्दुमा पुर्याएको छ।

ट्रम्पले राष्ट्रपति निर्वाचित भएपछि अमेरिकी तेल उत्पादन बढाउने घोषणा गर्दै “ड्रिल बेबी ड्रिल” नारासहित तेलको मूल्य घटाउने वाचा गरेका थिए। यद्यपि, हाल उनको व्यापार युद्धले नै कच्चा तेलको मूल्य ६० अमेरिकी डलरभन्दा तल झारिदिएको छ।

विश्लेषकहरू भन्छन्— बढ्दो ट्यारिफ विवादले औद्योगिक गतिशीलता घटाउनेछ र यसले तेलको मागमा नकारात्मक असर पार्नेछ। पश्चिम टेक्सास इन्टरमेडियट (WTI) तेलको मूल्य हाल प्रतिब्यारेल ६० डलरसम्म झरेको छ भने ब्रेन्ट क्रूड पनि ६४ डलरमा झरेको छ।

ट्रम्पले पेट्रोलको मूल्य घट्नु उपभोक्ताको जीत भएको भन्दै मुद्रास्फीति नियन्त्रणमा सहयोग पुग्ने दाबी गरे पनि, विश्लेषकहरू भने यसले विश्व अर्थतन्त्रलाई दीर्घकालीन रूपमा जोखिममा पार्न सक्ने चेतावनी दिइरहेका छन्।

तेलसँगै ग्यासको मूल्य पनि ओरालो लागेको छ। सोमबार प्राकृतिक ग्यास १.७२% ले घट्दै प्रतिमिलियन BTU मा ३.७७ डलरमा झरेको हो। ऊर्जा बजारको यस्तो गिरावटले विश्वको अर्थिक स्थायित्वमाथि प्रश्न उठाएको छ।

यसबीच, रूसलाई सबैभन्दा ठूलो झट्का लागेको देखिन्छ। युक्रेन युद्धको खर्च धान्न तेलको आम्दानीमा निर्भर रहेको रूसको युराल्स तेल मूल्य पनि ५० डलरमा झरेको छ। क्रेमलिनले “आर्थिक आँधी” को सामना गर्न रणनीति बनाउने बताएको छ।

चीनले पनि अमेरिकी ट्यारिफको जवाफमा ३४ प्रतिशत प्रतिकारी शुल्क लगाइसकेको छ। ट्रम्पले त्यसको प्रतिक्रिया स्वरूप थप ५० प्रतिशत शुल्क लगाउने चेतावनी दिएका छन्। यसले व्यापारिक सम्बन्ध थप चिसिने देखिन्छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x