घटे बैङ्क तथा वित्तीय संस्था

काठमाडौँ, ११ वैशाख। पाँच वर्षमा बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या १५५ बाट १०७ मा झरेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार २०७७ असार मसान्तमा १५५ वटा रहेका बैङ्क तथा वित्तीय संस्था चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तमा १०७ म झरेका हुन् । बैङ्कहरू गभिने तथा प्राप्ति (मर्जर तथा एक्विजिसन) बाट ४८ वटा घटेका हुन् ।
अहिले राष्ट्र बैङ्कबाट इजाजतप्राप्त बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या (लघुवित्त वित्तीय संस्थासमेत) २०८१ फागुन मसान्तमा १०७ रहेको छ । तीमध्ये २० वाणिज्य बैङ्क, १७ विकास बैङ्क, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैङ्क रहेका छन् ।
बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ११ हजार ५४३ पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आव २०८१/८२ को फागुन मसान्तसम्ममा ११ हजार ५४३ पुगेको हो । बैङ्क तथा वित्तीय संस्था (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या २०८१ असार मसान्तमा ११ हजार ५३० रहेकोमा २०८१ फागुन मसान्तसम्ममा ११ हजार ५४३ पुगेको हो । २०७७ असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या १० हजार ६८३ रहेको थियो ।
समीक्षा अवधिमा वाणिज्य बैङ्कका पाँच हजार ८१, विकास बैङ्कका एक हजार १३२, वित्त कम्पनीका २९१, लघुवित्त वित्तीय संस्थाका पाँच हजार ३९ वटा शाखा रहेका छन् ।
सबै पालिकामा वाणिज्य बैङ्क
गत माघअघि एउटा स्थानीय तहमा वाणिज्य बैङ्क नपुगेकामा हाल त्यसमा पनि वाणिज्य बैङ्कको शाखा सञ्चालनमा आएपछि अब सबै ७५३ पालिकामा वाणिज्य बैङ्क पुगेका छन् ।
लामो समयसम्म बैङ्कविहीन रहेको बझाङ जिल्लाको साइपाल गाउँपालिकामा एभरेस्ट बैङ्कको शाखा विस्तार भएपछि देशभरका ७५३ वटै पालिकामा ‘क’ वर्गका वाणिज्य बैङ्कबाट बैङ्किङ सुविधा पुगेको हो । गाउँपालिकाको प्रवेशमार्गमा रहेको पहिलो गाउँ धलौनमा एभरेस्ट बैङ्कले शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो । ७५३ पालिकामध्ये बैङ्क नभएको एउटा मात्रै पालिका साइपाल रहेको थियो । स्थानीय तह भएको आठ वर्षपछि साइपालवासीले बैङ्क देख्न पाएका थिए ।
नेपाल राष्ट्र बैङ्कले २०७४ सालमै साइपाल गाउँपालिकामा बैङ्किङ सेवा दिने जिम्मा एभरेस्ट बैङ्कलाई दिएको थियो । सडक, सञ्चार, सुरक्षालगायतका पूर्वाधार स्थानीय तहमै उपलब्ध नभएसम्म त्यहाँ शाखा स्थापना गर्न नसक्ने भन्दै एभरेस्टले शाखा स्थापना गर्न आनाकानी गर्दै आएको थियो । बैङ्क नभएका कारण साइपालका बासिन्दाले स्थानीय सरकारको अनुभूति गर्न नपाएको भन्दै पालिकाका जनप्रतिनिधि बैङ्क स्थापना गर्न माग्न गर्दै पटक पटक काठमाडौँ धाउँदै आएका थिए । (साभार : गोरखापत्र अनलाइन)