Date

शनि, बैशाख २०, २०८२
Sat, May 3, 2025

अब स्वास्थ्य बीमाको सेवा आफ्नै स्थानबाट: सरकारको ऐतिहासिक निर्णयले सहजता र पहुँचमा क्रान्ति ल्याउने

अब स्वास्थ्य बीमाको सेवा आफ्नै स्थानबाट: सरकारको ऐतिहासिक निर्णयले सहजता र पहुँचमा क्रान्ति ल्याउने

काठमाडाैं, १८ वैशाख । अब स्वास्थ्य बीमामा आवद्ध नागरिकले आफू बसेकै स्थानमा ‘प्रथम सेवा विन्दु’ (प्रस्थान विन्दु) कायम गरी बीमा सुविधा लिन सक्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्तावमा मन्त्रिपरिषद्ले स्वास्थ्य बीमा नियमावली संशोधन गर्दै यस्तो व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

मन्त्री पौडेलको सचिवालयका अनुसार यस अघि बीमाको सुविधा लिन नागरिकले बीमा गरिएको स्थानमै जानुपर्ने बाध्यता थियो, जसले गर्दा धेरैले सेवा पाउन कठिनाइ भोग्दै आएका थिए। सोही समस्यालाई सम्बोधन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमामा पहुँच र सहजता विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए।

नयाँ संशोधन अनुसार अब नागरिक जहाँ छन्, त्यही स्थानमै पहिलो सेवा विन्दु तोक्न सक्नेछन्। यसले बीमाको रेफर प्रक्रिया सजिलो बनाउने र अनावश्यक यात्रा गर्नुपर्ने झन्झट हटाउने विश्वास गरिएको छ।

यससँगै, स्वास्थ्य बीमाको सेवा लिन अब तीन महिना कुर्नुपर्ने प्रावधान पनि हटाइएको छ। अब बीमामा आवद्ध भएपछि एक महिनाभित्रै सेवा लिन सकिनेछ। यसले नागरिकलाई छिटो सेवा प्राप्तिमा सहयोग गर्नेछ।

मन्त्री पौडेलको सचिवालयले जानकारी दिएअनुसार, “स्वास्थ्य बीमामा आम नागरिकको पहुँच वृद्धि गर्न यो संशोधन अपरिहार्य थियो। यसले बीमालाई थप व्यवहारिक, प्रभावकारी र नागरिकमैत्री बनाउनेछ।”

नियमावली संशोधनमार्फत अब सबै तहमा – संघ, प्रदेश र स्थानीय सरकार – मा ‘प्रथम सेवा विन्दु’ कायम हुने व्यवस्था गरिएको छ। हालसम्म स्वास्थ्य बीमा सबै तहमा लागू भए पनि पहिलो सेवा विन्दु भने सीमित ठाउँमा मात्र थियो। यस कारण आधारभूत सेवा लिन नागरिकलाई टाढा जानुपर्ने बाध्यता थियो। अब त्यो समस्या समाधान हुने अपेक्षा गरिएको छ।

स्वास्थ्य बीमामा देखिएको संरचनागत जटिलता हटाउने र पहुँच वृद्धि गर्ने यो कदमलाई नागरिकले सकारात्मक रूपमा लिने विश्वास गरिएको छ। स्वास्थ्य सेवामा सबैको समान पहुँच सुनिश्चित गर्ने दिशातर्फ यो निर्णय मीलको ढुंगा सावित हुने देखिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *