इन्धनको मूल्य समायोजन: नेपाल आयल निगमको निर्णयले यात्रु र उद्योगलाई दिँदैछ सानो राहत

काठमाडाैं, १८ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। इन्डियन आयल कर्पाेरेशन (IOC) बाट अप्रिल ३० मा प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धनको मूल्यमा कटौती गरेको हो। बिहीबार (वैशाख १९) बिहानदेखि लागू हुने नयाँ दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ। यस्तै, आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर २९ अमेरिकी डलरले घटाइएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा मूल्य पहिलो वर्गमा प्रतिलिटर १५५.५० रुपैयाँ, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ कायम गरिएको छ। यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १४२.५०, दोस्रो वर्गमा १४४ र तेस्रो वर्गमा १४५ रुपैयाँ तोकिएको छ। निगमले वर्गीकरणअनुसार पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवासी, नेपालगन्ज, धनगढी र वीरगन्जका डिपोहरू रहेका छन् भने दोस्रो वर्गमा सुर्खेत र दाङ र तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल रहेका छन्।
हालैका दिनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटलाई समायोजन गर्दै निगमले मूल्य समायोजन गरेको बताइएको छ। मूल्य घटुवासँगै उपभोक्ताले केही राहत महसुस गर्ने अपेक्षा गरिएको छ, विशेषगरी सार्वजनिक यातायात, मालवाहक सवारीसाधन र हवाइ सेवामा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ। निगमको यो निर्णय हालको आर्थिक दबाबबीच उपभोक्ता हितमा लिएको सकारात्मक कदमका रूपमा लिइएको छ।