गभर्नर छनोट समिति पूर्णता: निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको नियुक्तिसँगै नयाँ गभर्नर चयनको बाटो खुला

काठमाडाैं, १८ वैशाख । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर छनोट समितिमा रिक्त सदस्यका रूपमा नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गर्दै समितिलाई पूर्णता दिएको हो।
यसअघि समितिमा सदस्य रहेका पूर्व गभर्नर विजयनाथ भट्टराईले कुनै पनि बैठक नबसेको र आफूलाई जानकारी समेत नदिएको भन्दै राजीनामा दिएका थिए। भट्टराईको राजीनामापछि रिक्त रहेको स्थानमा अधिकारीको पुनः प्रवेशले समितिको संरचना पूरै बनेको हो।
गभर्नर नियुक्ति प्रक्रियामा ढिलाइले हालको सत्ता गठबन्धनभित्र असमझदारी सिर्जना भएको थियो। तर समितिलाई पूर्णता दिइएसँगै गठबन्धनले केही सहज महसुस गरेको देखिएको छ।
सरकारी स्रोतका अनुसार अब समितिको बैठक बसेर सिफारिस गर्ने तयारी भइरहेको छ र आगामी मन्त्रीपरिषद बैठकबाट नयाँ गभर्नरको नाम टुंगो लगाउने सम्भावना छ।
हाल कार्यवाहक गभर्नरको रूपमा कार्यरत डा. निलम ढुङ्गाना, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र डा. प्रकाश कुमार श्रेष्ठ गभर्नरका लागि प्रमुख दौडमा छन्। तीमध्येबाट एक जनालाई छानिने प्रबल सम्भावना रहेको स्रोतले जानकारी दिएको छ।
गभर्नर चयन समितिमा हाल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अध्यक्ष रहने प्रावधानअनुसार, उपाध्यक्षको संयोजनमा समितिले नयाँ गभर्नर सिफारिस गर्नेछ। राष्ट्र बैंकजस्तो संवेदनशील संस्थाको नेतृत्व चयनको चरणमा प्रवेश गरेसँगै देशको मौद्रिक नीतिसम्बन्धी भविष्यको दिशाबारे उत्सुकता बढेको छ।