Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

प्रतिनिधि सभामा जनप्रतिनिधिहरूको गम्भीर चासो: दुर्घटना, आगलागी, भ्रष्टाचार र वन्यजन्तु द्वन्द्वको मुद्दामा तत्काल कदम चाल्न माग

प्रतिनिधि सभामा जनप्रतिनिधिहरूको गम्भीर चासो: दुर्घटना, आगलागी, भ्रष्टाचार र वन्यजन्तु द्वन्द्वको मुद्दामा तत्काल कदम चाल्न माग

काठमाडाैं, २४ वैशाख । प्रतिनिधि सभाको ‘विशेष समय’ मा आज विभिन्न सांसदहरूले मुलुकका विविध गम्भीर मुद्दामा सरकारको ध्यानाकर्षण गराएका छन्। जनप्रतिनिधिहरूले दुर्घटना, आगलागी, भ्रष्टाचार, वन्यजन्तु द्वन्द्व र खेलकुद पूर्वाधार जस्ता विषयमा तत्काल कदम चाल्न सरकारलाई आग्रह गरे।

मकवानपुर दुर्घटनामा घाइतेलाई तत्काल उपचारको माग
नेकपा एमालेका सांसद महेशकुमार बरतौलाले आज मकवानपुरको राक्सिराङमा बोलेरो जिप दुर्घटनामा परेका १० जनाको उपचारमा तत्काल ध्यान दिन सरकारसँग माग गरे। उनले दुर्घटनामा ६ जना गम्भीर घाइते रहेको जानकारी दिँदै उनीहरूलाई तुरुन्तै उचित उपचार उपलब्ध गराउन आग्रह गरे।

धितोपत्र बोर्डको भ्रष्टाचार प्रकरणमा छानबिनको माग
सांसद माधव सापकोटाले धितोपत्र बोर्डमा भएको भनिएको भ्रष्टाचार प्रकरणबारे अनुसन्धान गर्न सभामुखमार्फत सरकारलाई निर्देशन दिन माग गरे। उनका अनुसार, एक प्राथमिक सेयर निष्कासन (आईपीओ) रोकिएको घटनामा कमिसन मागिएको आरोप लगाइएको छ, जसबारे छानबिन आवश्यक रहेको बताए।

आगलागीबाट विस्थापित परिवारलाई पुनर्वासको व्यवस्था गरिनु पर्ने
सांसद योगेन्द्र मण्डलले चैत ५ गतेको आगलागीमा घर गुमाएका परिवारलाई सरकारले उचित पुनर्वासको व्यवस्था गर्नुपर्नेमा जोड दिए। आगलागीमा एउटा बालिकाको ज्यान गएको र पीडित परिवार हाल मदरसामा आश्रित रहेको उनले जानकारी गराए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवादको स्पष्टता माग
सांसद ठाकुरप्रसाद गैरेले गैरआवासीय नेपाली संघको नयाँ कार्यसमिति गठन सम्बन्धी विवादबारे स्पष्ट जानकारी दिन सरकारसँग माग गरे। उनका अनुसार, वर्तमान कार्यसमितिको कार्यकाल नटुंगिँदै नयाँ कार्यसमिति गठन गरिएको भन्दै यसको विधिसम्मतता पुष्टि गर्न आग्रह गरे।

राजविराज रंगशालाको स्तरोन्नति र खेलकुद अनुसन्धान केन्द्रको माग
जनता समाजवादी पार्टीकी सांसद रञ्जु कुमारी झाले आगामी आर्थिक वर्षको बजेटमा सप्तरीको राजविराज रंगशालाको स्तरोन्नतिका लागि बजेट छुट्याउन सरकारलाई आग्रह गरिन्। उनले ७० जिल्लामा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने गरेको उल्लेख गर्दै राजविराजमा क्रिकेट अनुसन्धान केन्द्र स्थापना गर्न पनि प्रस्ताव राखिन्।

बर्दियामा वन्यजन्तु द्वन्द्व र कृषकको समस्यामा सरकारको ध्यानाकर्षण
जनमत पार्टीका सांसद अब्दुल खानले बर्दियामा बढ्दै गएको वन्यजन्तु द्वन्द्वका कारण मासिक रुपमा मानिसहरूको ज्यान जाने गरेको भन्दै यसमा सरकारको तदारुकता आवश्यक रहेको बताए। उनले कालीयारका काला हरिणको संरक्षण, भेन्टिलेटरयुक्त अस्पताल, यातायात पूर्वाधार सुधार र कृषकलाई विशेष सहयोगको व्यवस्था गर्न सरकारसँग माग गरे।

कृषिमा विषादीरहित उत्पादनमा जोड
जनता समाजवादी पार्टीकी सांसद रेखा यादवले स्वदेशी कृषि उत्पादनलाई प्रवर्द्धन गर्दै विषादीरहित खाद्य उत्पादनमा सरकारको ध्यानाकर्षण गराइन्। उनले आयातीत कृषि सामग्रीको गुणस्तर परीक्षण गर्न उपयुक्त संयन्त्र बनाउनुपर्नेमा पनि जोड दिइन्।

विदेश नीति र आतंकवाद नियन्त्रणमा समन्वयकारी नीति आवश्यक
लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लाले नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीतिलाई पुनःस्थापित गर्दै विश्व परिदृश्यमा देखिएका नयाँ चुनौतीहरू सामना गर्न आतंकवाद नियन्त्रणमा प्रभावकारी नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *