प्रतिनिधि सभाको बैठक आज : बजेट विधेयकका सिद्धान्त र समितिका वार्षिक प्रतिवेदनमाथि छलफल

काठमाडाैं, १ जेष्ठ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयक (कर प्रस्तावबाहेक) का सिद्धान्त र प्राथमिकताहरूमा छलफल जारी रहनेछ।
यससँगै, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको वार्षिक प्रतिवेदन – २०८२’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। साथै, कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले ‘कानून, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन – २०८१/८२’ पेश गर्नेछिन्।
यसअघि, बजेट तयारीका सन्दर्भमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी बजेट यथार्थपरक र अनुशासित हुने बताएका थिए। उनले बजेट निर्माणमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको र उच्च प्राथमिकताका परियोजनामा ध्यान केन्द्रित गरिने बताएका थिए ।
आजको बैठकमा प्रस्तुत हुने वार्षिक प्रतिवेदनहरू र बजेट विधेयकका सिद्धान्तहरू आगामी आर्थिक वर्षका नीति निर्माण र कार्यान्वयनमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।