ओसाका वर्ल्ड एक्स्पोमा नेपालको पवेलियन अलपत्र: सांसद शिशिर खनालको गम्भीर चिन्ता

काठमाडाैं, १ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले जापानको ओसाकामा जारी वर्ल्ड एक्स्पो २०२५ मा नेपालको पवेलियन निर्माण अधुरो रहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै खनालले नेपालले आफ्ना कला, संस्कृति, पर्यटन र लगानी सम्भावनालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न पाउने महत्वपूर्ण अवसर गुमाएको बताएका छन्।
उनका अनुसार, अप्रिल १३ बाट सुरु भई अक्टोबर १३ सम्म चल्ने एक्स्पोमा १६० भन्दा बढी देशले आफ्नो पहिचान, प्रगति र सम्भावनालाई प्रस्तुत गरिरहेका छन्। तर, नेपालले आफ्ना योजना अधुरै छोडेर अन्तर्राष्ट्रिय स्तरमा लज्जास्पद स्थिति सामना गरिरहेको छ।
खनालले जापानी मिडिया ‘असाही शिम्बुन’ ले हालै प्रकाशित गरेको समाचारलाई उद्धृत गर्दै भने, “भुक्तानी विवाद र सरकारी उदासिनताका कारण नेपालले आफ्नो पवेलियन निर्माण पूरा गर्न सकेन। यसले हाम्रो अन्तर्राष्ट्रिय छवि धूमिल बनाएको छ।”
उनले निर्माण कार्य रोकिएको मुख्य कारण आर्थिक विवाद रहेको बताउँदै सरकारलाई तत्काल समस्या समाधान गरी पवेलियन निर्माण सम्पन्न गर्न आग्रह गरे।
खनालले भने, “२८ मिलियनभन्दा बढी दर्शक आउने अपेक्षा गरिएको यस अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सहभागिता मात्र नभई पहिचान पनि संकटमा परेको छ। सरकार तुरुन्तै पहल गरी अधुरो पवेलियनलाई पूरा गर्न आवश्यक कदम चालोस्।”
नेपालको पवेलियन निर्माण नहुँदा जापानी मिडियाले पनि यसलाई गम्भीरतापूर्वक उठाएको खनालको भनाइ छ। उनले नेपाल सरकारलाई यस विषयमा तत्काल कदम चाल्न र नेपालको अन्तर्राष्ट्रिय छवि जोगाउन आग्रह गरे।