ठमेलमा २.५ अर्ब लगानीमा हेरिटेज होटल ‘आर्या होटल एन्ड स्पा’ सञ्चालनमा, नेपाली कला र संस्कृतिको अनुपम प्रस्तुति

काठमाडाैं, १ जेष्ठ । ठमेलमा नेपाली कला, संस्कृति र परम्परागत आतिथ्यता झल्कने गरी नयाँ हेरिटेज होटल ‘आर्या होटल एन्ड स्पा’ सञ्चालनमा आएको छ । जापानमा करिब साढे दुई दशक बिताएका धादिङका गैरआवासीय नेपाली कृष्ण सिम्खडाको एकल लगानीमा होटल सञ्चालनमा ल्याइएको हो ।
ठमेलको नरसिंह चोकमा अवस्थित यो होटलले पाहुनालाई नेपालीपनको अनुभव दिलाउन परम्परागत शैलीमा निर्माण गरिएको छ । होटलको संरचना, सजावट र आतिथ्य सेवामा नेपाली कला, शिल्पकला र संस्कृतिको झल्को देख्न सकिन्छ ।
पत्रकार सम्मेलनमा सञ्चालक सिम्खडाले “नेपालको पर्यटनमा भविष्य देखेर जापानको स्थायीत्व त्यागेर आफ्नै देशमा केही गर्न चाहेको” बताए । उनले थपे, “जापानमा रहँदा त्यहाँका होटल व्यवसायमा आफ्नो कला र संस्कृतिलाई कसरी जोगाइराखिएको छ भन्ने कुरा सिक्ने मौका पाएँ । यही सोचलाई आधार मानेर ठमेलमा ‘आर्या होटल एन्ड स्पा’ निर्माण गरेको हुँ ।”
नेवारी शिल्पकला र काष्ठकलाको अनुपम नमुना
होटलको मूल प्रवेशद्वारबाटै पाहुनालाई नेपाली शिल्पकलाले स्वागत गर्छ । कर्मचारीले परम्परागत पोसाकमा स्वागत गर्ने व्यवस्थाले नेपाली आतिथ्य संस्कृतिलाई उजागर गरेको छ ।
होटलका विभिन्न तला, रुम, सभाहल र रेष्टुरेन्टमा नेवारी शिल्पकलाका बेजोड कृति सजिएका छन् । मयूर झ्याल, देशमरु झ्याल र परम्परागत टुँडालको संयोजनमा बनाइएको होटलको लबीले पाहुनालाई ऐतिहासिक नेपालको झल्को दिलाउँछ ।
होटलका रुममा भक्तपुरमा निर्माण गरिएको तेलिया इँटा प्रयोग गरिएको छ । ऐनाको फ्रेमदेखि दराजको ढोका, कुसन र कुर्सीसम्ममा काष्ठकलाको उत्कृष्ट नमुना देख्न पाइन्छ । “विदेशी पाहुनालाई नेपाली कला र संस्कृतिको वास्तविक अनुभव दिलाउन परम्परागत शैलीलाई अँगालिएको हो,” सिम्खडाले भने ।
२.५ अर्बको लगानी, ७२ कोठा, दुई सभाहल
करिब २० आना क्षेत्रफलमा निर्माण गरिएको होटलमा जग्गासहित २ अर्ब ५० करोड रुपैयाँको लगानी भएको सञ्चालक सिम्खडाले जानकारी दिए ।
होटलमा कुल ७२ वटा कोठा छन्, जसमा ४१ वटा डिलक्स रुम रहेका छन् । ती रुमलाई आधुनिक र परम्परागत गरी दुई शैलीमा डिजाइन गरिएको छ । परम्परागत शैलीका कोठामा काष्ठकलाको प्रयोग बढी गरिएको छ ।
१२औँ तलामा ‘सोरा’ रेष्टुरेन्ट, स्काई वाकको मजा
होटलको १२औँ तलामा ‘सोरा’ नामक अल डे डाइनिङ रेष्टुरेन्ट रहेको छ । सोही तलामा स्काई वाकको मजा लिन ‘स्काई लाइन सोरा’ बनाइएको छ । यहाँ सिसाबाट शहरको मनोरम दृश्यावलोकन गर्दै डिनरको अनुभव लिन सकिन्छ ।
होटलमा दुईवटा सभाहल पनि रहेको छ, जसले सम्मेलन, गोष्ठी र वैवाहिक कार्यक्रमका लागि सुविधा दिन्छ । होटलका कोठामा स्वयम्भू, धरहरा र सिटी भ्यू पनि समेटिएको छ ।
कोठाको भाडादर : १६० डलरदेखि १६०० डलरसम्म
होटलका कोठाको भाडादर १६० डलरदेखि १६०० डलरसम्म निर्धारण गरिएको छ । फरक-फरक वर्गका पाहुनालाई लक्षित गरी विभिन्न प्रकारका कोठा निर्माण गरिएको सञ्चालक सिम्खडाले जानकारी दिए ।
“ठमेलका अन्य होटलभन्दा फरक बनाउने प्रयास गरेका छौँ । नेपाली कला र संस्कृतिको संरक्षणमा यो होटलले महत्त्वपूर्ण भूमिका खेल्नेछ,” सिम्खडाले भने ।