सरकारद्वारा उखु किसानलाई ७५ करोड ४९ लाख अनुदान रकम निकासा

काठमाडौं, ११ भदौ । सरकारले उखु किसानलाई प्रोत्साहन र अनुदानको रकम मंगलबार निकासा गरेको छ। अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत कुल ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ किसानको बैंक खातामा भुक्तानी गर्न अनुमति दिएको हो।
मन्त्रीपरिषदको बैठकले यसपटक प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो। प्राविधिक कारणका कारण रकम निकासा ढिलाइ हुँदा किसानहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका थिए। यसअघि उखु किसानहरूले प्रति क्विन्टल ७० रुपैयाँ प्रोत्साहन स्वरुप पाउँदै आएका थिए।
निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत वितरण हुनेछ। कृषि मन्त्रालयले आवश्यक बजेट र मुलुकको आर्थिक अवस्था हेरेर ३५ रुपैयाँ प्रति क्विन्टल अनुदान उपलब्ध गराएको जनाएको छ।
यसैबीच, काठमाडौंमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधिबीच सिँहदरवारस्थित मन्त्रालयमा वार्ता भएको छ। वार्तामा कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह, मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल तथा उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी छन्। किसानतर्फ श्यामवावु रायलगायत प्रतिनिधि उपस्थित थिए।
अघिल्लो दिनै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उपमहानिर्देशक सिंहको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेका थिए। वार्ता मार्फत किसानको माग र सरकारले उपलब्ध गराएको अनुदानमा समन्वयको प्रयास भइरहेको छ।