एनआरएनएलाई ठूला पूर्वाधारमा लगानी गर्न महासंघको आग्रह, ‘नेपाललाई समृद्ध बनाउन जुटौं’

काठमाडाैं, १ जेष्ठ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीहरु (एनआरएनए) लाई देशको ठूला पूर्वाधारमा लगानी गर्न आग्रह गरेका छन् । काठमाडौंमा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ अन्तर्गत पोलिसिज एण्ड प्लेटफर्म क्रियटिङ इनेबलिङ एण्ड इन्भायरोन्मेन्ट फर डायस्पोरा इन्भेष्टमेन्ट विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् ।
विश्वभर फैलिएको नेपाली डायस्पोरालाई एकताबद्ध भएर काम गर्न सुझाव दिँदै ढकालले भने, “एनआरएनए अलग अलग हैन, एकजुट भएर अघि बढ्नुपर्छ । नेपालीहरु जहाँ पनि राजनीति गर्ने भन्ने सन्देश प्रवाह भएको छ, यो सकारात्मक हैन । त्यसैले एकताबद्ध भएर अघि बढ्न आग्रह सहित शुभकामना दिन्छु ।”
उनले एनआरएनएले उठाएका मुद्दाहरूमा महासंघले निरन्तर साथ दिँदै आएको चर्चा गरे । तर, उनले गैरआवासीय नेपालीहरुलाई अधिकार मात्र खोजेर नबस्न, बरु आफ्नो कर्तव्य सम्झेर देशको आर्थिक उन्नतिका लागि योगदान दिन आग्रह गरे ।
“म विदेश यात्रामा जाँदा कहिलेकाहीँ डायस्पोराबाट नकारात्मक टिप्पणी सुन्ने गर्छु,” ढकालले भने, “अमेरिका, अष्ट्रेलिया, कोरियाको तुलनामा नेपाल कम विकसित भएको हो । तर, केवल आलोचना मात्र गरेर हुँदैन । नेपालको आर्थिक भविष्यको लागि साझा दृष्टिकोण बनाएर काम गर्नुपर्छ ।”
अध्यक्ष ढकालले एनआरएनए इन्भेस्टमेन्ट कम्पनीको चर्चा गर्दै उक्त कम्पनीको स्वामित्व परिवर्तन भएपछि अपेक्षित प्रतिफल दिन नसकेको बताए । “अब स्थापना भएका कम्पनीलाई उद्देश्यअनुरूप अगाडि बढाउनुपर्छ,” उनले भने ।
ढकालले उद्योग वाणिज्य महासंघको पहलमा १० अर्ब रुपैयाँको पुँजीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरिएको जानकारी पनि गराए । उनले एनआरएनएहरुलाई पनि सो कम्पनीमा सहभागी हुन आह्वान गरे ।
नेपालमा पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै उनले भने, “देशको सम्भावनालाई उजागर गर्ने यात्रामा एनआरएनएहरुलाई संगसंगै हिँड्न आग्रह गर्दछु ।”