सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बन, टेरामक्स प्रकरणमा भ्रष्टाचार मुद्दा दायर

काठमाडाैं, १ जेष्ठ । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वत: निलम्बित भएका हुन्।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित बस्नेत संचारमन्त्री रहेका बेला टेरामक्स प्रकरणको विवादमा तानिएका थिए। आरोपअनुसार, बस्नेतले संचारमन्त्रीको हैसियतमा मन्त्रिपरिषद्ले मात्र पाउने अधिकारभन्दा बाहिर गई टेरामक्स परियोजना कार्यान्वयनका लागि निर्देशन दिएका थिए। सोही निर्देशनका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीहरूले कानूनविपरीत कार्य गरेको आरोप लगाइएको छ।
अख्तियारले टेरामक्स प्रकरणमा १६ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार निवारण ऐन, २०५८ अनुसार मुद्दा दर्ता गरेको छ। उक्त मुद्दामा जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो दाबी गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सार्वजनिक पदमा रहेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएमा उनी स्वतः निलम्बित हुने प्रावधान रहेको छ। सोही प्रावधानअनुसार बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको हो।
संसद सचिवालयका अनुसार बस्नेतको निलम्बनको आधिकारिक पत्र प्राप्त भएपछि सभामुखले संसदलाई औपचारिक रूपमा जानकारी गराउनेछन्। तर, बिहीबार दिनभर पत्र प्राप्त नभएकाले शुक्रबारको संसद बैठकमा मात्र सभामुखले उक्त जानकारी गराउने जनाइएको छ।
यस प्रकरणमा बस्नेतसहित १६ जना प्रतिवादी बनाइएका छन्। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनका प्रावधानअनुसार कारबाहीको प्रक्रिया अघि बढाइने बताइएको छ।