गोन्द्राङमा साढे करोड बढी लागतमा राईनो पार्क बन्दै, मेयर दाहालद्धारा शिलान्यास

काठमाडाैं, १ जेष्ठ । भरतपुर–१२ को गोन्द्राङमा नगर स्तरीय पार्क निर्माण हुने भएको छ । साढे करोड बढी लागतमा निर्माण हुने राईनो पार्क तथा खुला चिडियाखानाको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरे । उनले भरतपुर महानगरपालिकाको एक वडा, एक पार्कको नीति अनुसार राजमार्गसँग जोडिएको यस ठाँउमा पार्क निर्माण गर्न लागिएको बताए ।
उनका अनुसार यो पार्कमा विभिन्न पर्यटकीय पूर्वाधारहरु निर्माण र सौन्दर्यकरणको काम हुनेछ ।राईनो पार्क भरतपुर आउने पर्यटकलाई नजिकै छोटो समय घुमघाम गर्न उपयुक्त स्थान बन्ने विश्वास व्यक्त गरे । बेलशहर सामुदायिक वन क्षेत्रमा पर्ने पार्क ८ विघा क्षेत्रफलमा निर्माण हुनेछ । गौतम मोर्डन जेभीले २०८२ कात्र्तिक ७ गतेभित्र निर्माण सम्पन्न हुने गरी मूल्य अभिवृद्धि करसहित रु २ करोड २३ लाख ८ हजार ६५४ रुपैयाँमा पार्कको निर्माण गर्नेछ ।
भरतपुर महागनरपालिकाका सिनियर डिभिजनल ईन्जिनियर सन्तोष आर्चायले यो रकमबाट वन्यजन्तु उद्धार भवन, गोही, सर्प, माछा, कछुवाको लागि पोखरी, म्युजियम, फुटपाथ, घेराबारसहितको खुला चिडियाखाना र विश्रामका लागि गोलघर निर्माण हुनेछ । कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले पार्क निर्माणले पर्यापर्यटनलाई सहयोग पुराउने उल्लेख गरे ।
यस्तै महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले पार्कमा ठेक्कामा उल्लेख भएका सबै संरचना बन्दा निकै आर्कषक पार्क निर्माण हुने विश्वास व्यक्त गरे । कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर–१२ का अध्यक्ष लेखराज पन्तको अध्यक्षतामा भएको थियो ।