डा. विश्व पौडेलविरुद्धको रिट खारेज, गभर्नर नियुक्तिमा कानुनी अवरोध हट्यो

काठमाडौं, २ जेष्ठ । नेपाल राष्ट्र बैंकका गभर्नरमा डा. विश्व पौडेललाई नियुक्त गर्न लागेको भन्दै दायर गरिएको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ। अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले गत मंगलबार दायर गरेको उक्त रिटलाई सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरेका हुन्।
रिटमा राजनीतिक दलको सदस्य रहेका व्यक्तिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्न नहुने दाबी गरिएको थियो। रिटदाताहरूले पौडेल नेपाली कांग्रेसको महासमिति सदस्य र प्रतिनिधि सभा निर्वाचनमा पराजित उम्मेदवार भएको भन्दै उनको नियुक्ति राष्ट्र बैंक ऐनविपरीत हुने जिकिर गरेका थिए।
तर सर्वोच्चले समाचारमा आधारित भएर मात्रै रिट दर्ता गर्न नमिल्ने बताउँदै सो रिटलाई दरपीठ गरेको हो। रजिष्ट्रार पोखरेलले रिट दर्ताका लागि पर्याप्त आधार नभएको भन्दै दरपीठ गरेको जानकारी दिएका छन्।