सम्पत्ति शुद्धीकरण कानुन उल्लंघन गर्ने ११ ब्रोकर कम्पनी सेबोनको कारबाहीमा, लिखित चेतावनीमा सीमित

काठमाडाैं, ५ जेष्ठ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनको पालना नगर्ने ११ वटा ब्रोकर कम्पनीहरू नेपाल धितोपत्र बोर्ड (सेबोन) को कारबाहीमा परेका छन्। सेबोनले ती कम्पनीहरूलाई लिखित रुपमा सचेत गराउँदै कानुनी दायित्वबारे पुनः स्मरण गराएको छ।
धितोपत्र बजारमा क्रियाशील ब्रोकर कम्पनीहरूलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ऐन, नियमावली र निर्देशनहरू पालना गर्नुपर्ने व्यवस्था छ। तर, नियामक निकायले गरेको अनुगमनमा ११ वटा कम्पनीले ती प्रावधानको उल्लंघन गरेको भेटिएपछि सेबोनले कारबाही प्रक्रिया अगाडि बढाएको हो।
सेबोनका एक अधिकारीका अनुसार, उक्त कम्पनीहरूले ग्राहक पहिचान (KYC) अद्यावधिक नगरेको, शंकास्पद कारोबारको रिपोर्टिङ नगरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर देखिएको लगायतका कारणले कारबाहीमा परेका हुन्।
हाललाई ती कम्पनीहरूलाई लिखित सचेतना दिइएको छ। यदि भविष्यमा पनि यस्ता नियम उल्लंघन दोहोरिएमा कडा नियामकीय कारबाही गरिने सेबोनले चेतावनी दिएको छ।
धितोपत्र बोर्डले आफ्नो निगरानी प्रणालीलाई अझ सुदृढ बनाउँदै सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिएको जनाएको छ।
सेबोनका अनुसार, यस्तो लापरवाहीले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा कालोसूचीमा पार्ने जोखिम समेत निम्त्याउन सक्छ। त्यसैले सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशिकाको पूर्ण पालना अनिवार्य रहेको बोर्डले स्पष्ट पारेको छ। कारबाहीमा परेका ११ ब्रोकर कम्पनीहरूको नाम भने सेबोनले सार्वजनिक गरेको छैन।