लगातार ६ दिनपछि सेयर बजारमा सुधार, सूचक १९.३० अंकले उकालो

काठमाडाैं, ५ जेष्ठ । लगातार ६ दिनको गिरावटपछि आज नेपाली सेयर बजारमा सुधार देखिएको छ। सोमबार नेप्से परिसूचक १९.३० अंकले वृद्धि भई २,६२८.३६ अंकमा पुगेको छ।
आजको सेयर कारोबार पनि उल्लेख्य देखिएको छ। कुल ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो। बजारमा कारोबार भएका कम्पनीमध्ये १८५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ६० कम्पनीको मूल्य घटेको र २ कम्पनीको मूल्य स्थिर रहेको छ।
समग्र बजार सुधारसँगै ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्सले पनि उल्लेखनीय वृद्धि देखाएको छ। समूहगत सूचकमा होटल तथा पर्यटन समूह १.२४ प्रतिशतले घटेको भए पनि अन्य सबै समूहमा वृद्धि भएको छ। आज विकास बैंक समूह सर्वाधिक १.८८ प्रतिशतले बढेको छ भने बैंकिङ, जलविद्युत्, निर्जीवन बीमा र व्यापार समूह पनि १ प्रतिशतभन्दा धेरैले बढेका छन्।
आज बजारमा पाँच कम्पनीमा सकारात्मक सर्किट लागेको छ। ती कम्पनीहरुमा सप्तकोशी डेभलपमेन्ट बैंक, ओम मेगा फर्मास्युटिकल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र तेह्रथुम पावर कम्पनी रहेका छन्। यता, विन नेपाल लघुवित्तको मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
सबैभन्दा धेरै कारोबार भएको कम्पनी राधी जलविद्युत् कम्पनी रहेको छ भने कारोबार संख्याको हिसाबले क्रेष्ट माइक्रो इन्स्योरन्स अगाडि देखिएको छ। यस्तै, हिमालयन ८०–२० म्युचुअल फण्ड आजको दिन सर्वाधिक कारोबार संख्या भएको स्क्रिप बनेको छ।