काठमाडाैं, १९ जेष्ठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले पछिल्ला १० दिनमा भिजिट भिसामा विदेश जान खोजेका ६६६ यात्रुलाई आवश्यक कागजात नपुगेको भन्दै विदेश जानबाट रोकिएको जनाएको छ। कार्यालयका अनुसार जेठ ८ देखि १८ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कतार, मलेसिया र कम्बोडिया जाँदै गरेका यात्रुहरूलाई अधुरो कागजातका कारण फिर्ता पठाइएको हो। तीमध्ये सबैभन्दा धेरै ४३७ जना यूएई जान लागेका थिए।
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई भिजिट भिसा प्रकरणमा अख्तियारको अनुसन्धानमा परेपछि अध्यागमनले निगरानी थप कडाइ गरेको हो। यसअघि माघ १० गतेदेखि लागू गरिएको ६ बुँदे नयाँ मापदण्डअनुसार यात्रुहरूसँग दुईतर्फी टिकट, होटल बुकिङ, कम्तीमा ६ महिना म्याद बाँकी पासपोर्ट, कम्तीमा ५०० अमेरिकी डलर बराबरको वैदेशिक मुद्रा, बसाइको विवरण र आफन्तसँगको नाता प्रमाणित कागजात अनिवार्य गरिएको छ।
यीमध्ये कुनै पनि कागजात नपुगेको अवस्थामा अध्यागमनले यात्रुलाई उडान अनुमति नदिने नीति लिएको छ। भिजिट भिसाको नाममा हुने मानव तस्करी र ठगी रोक्न सरकारले यस्ता कडाइका उपायहरू अवलम्बन गरेको हो। अध्यागमन कार्यालयले आगामी दिनमा अझ प्रभावकारी रूपमा नियमन गर्ने तयारी गरेको जनाएको छ।