अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालमा हालको परिस्थितिको पुनरावलोकन गरेपछि अब टीपीएस आवश्यक नरहेको निष्कर्ष निकालेको हो। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाको वेबसाइटमा प्रकाशित जानकारी अनुसार, “नेपालका लागि टीपीएस सुविधा सन् २०२५ अगस्ट ५ को राति ११:५९ बजे अन्त्य हुनेछ।”
सूचनामा स्पष्ट भनिएको छ, “यदि तपाईं टीपीएस अन्तर्गत अमेरिका बसिरहनु भएको छ र वैध बसाइको अन्य कुनै आधार छैन भने, कृपया नेपाल फर्किन तयार हुनुस्।” साथै, इच्छुकहरूले सिबिपी वन (CBP One) मोबाइल एप प्रयोग गरी स्वेच्छिक रूपमा अमेरिका छोड्न सक्ने विकल्प पनि दिइएको छ।
टीपीएसको अवलम्बनमा बसेका नेपाली नागरिकहरूका लागि अब अमेरिका बस्न वैध आप्रवासनको अन्य आधार आवश्यक पर्नेछ, अन्यथा उनीहरूलाई स्वदेश फर्कनै पर्नेछ। होमल्याण्ड सेक्युरिटीकी सचिव क्रिस्टी नोएमले भनिन्, “नेपाल अब यस्तो संकटपूर्ण अवस्था वा मानवीय आपतकालको अवस्थामा छैन, जसका कारण टीपीएस जारी राख्नुपर्छ।”
टीपीएस सुविधा सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि सुरु गरिएको थियो। त्यतिबेला अनुमानित १५ हजार नेपालीले यो सुविधा लिएका थिए। तर, समयक्रमसँगै यो संख्यामा क्रमशः कमी आइरहेको छ।
यो निर्णयले अमेरिकी भूमिमा टीपीएसकै भरमा बसिरहेका नेपालीहरूलाई वैकल्पिक बसाइको उपाय खोज्न वा स्वदेश फर्कन गम्भीर तयारी गर्न बाध्य बनाएको छ। नेपाली समुदाय, आप्रवासन कानुनी सहायता समूहहरू तथा सम्बन्धित संघसंस्थाले यस निर्णयको असरबारे छलफल सुरु गरिसकेका छन्।