गृह मन्त्रीको राजीनामाको मागमा संसद अवरुद्ध हुँदा राष्ट्रहित प्रभावित: सभामुख घिमिरे

काठमाडाैं, २३ जेष्ठ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गृह मन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरुद्ध गरिँदै आएकोमा गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार डिप्लोमा इञ्जिनियर संघको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद अवरुद्ध हुँदा देशको शासन व्यवस्था र विकासमा गम्भीर असर परेको बताए।
सभामुख घिमिरेले भने, “संसदको बैठक बारम्बार अवरुद्ध हुँदा महत्वपूर्ण विधेयकमाथि छलफल हुन सकेको छैन। यसले मुलुकको सुशासन र समग्र विकासलाई प्रभावित गरेको छ।” उनले हाल अलपत्र परेका विद्यालय शिक्षा विधेयक र संघीय निजामती सेवा विधेयक जस्ता महत्वपूर्ण कानुन निर्माण प्रक्रियामा अवरोध भइरहेकोप्रति चिन्ता व्यक्त गरे।
विपक्षी दलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा भएको भनिएको अवैध भिसा प्रकरणमा गृह मन्त्री लेखकको संलग्नता रहेको आरोप लगाउँदै आएका छन्। उनीहरूले मन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक अवरुद्ध गर्दै आएका छन्।
यस राजनीतिक गतिरोधका कारण संसदको कार्यसूची अघि बढ्न सकेको छैन भने बजेटसँग सम्बन्धित विषयमा समेत छलफल अघि नबढेको अवस्था छ।
सभामुख घिमिरेले सबै सांसदहरूलाई राष्ट्रहितलाई प्राथमिकता दिन आग्रह गर्दै संसद सुचारु गर्न आह्वान गरे। “जनताको हितका लागि ल्याइएका विधेयक पारित गर्नुपर्ने बेला हो, संसदमा अवरोध गर्नु राष्ट्रहित विपरीत हो,” सभामुखले भने।