इटहरीको पाँचतारे होटल गरिमा लिमिटेडले आईपीओ प्रक्रियाको सुरुवात, निम्ब एस क्यापिटलसँग सेवा सम्झौता

काठमाडौं, २५ जेष्ठ । इटहरीस्थित कोशी प्रदेशको पहिलो पाँचतारे स्तरको लग्जरी होटल कम्पनी होटल गरिमा लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासनको तयारीस्वरूप महत्वपूर्ण कदम चालेको छ। कम्पनीले निम्ब एस क्यापिटल लिमिटेड, काठमाडौंसँग आईपीओ सेवा मार्गचित्र सम्झौता (Roadmap to IPO Service Agreement) मा हस्ताक्षर गरी आफ्नो सार्वजनिक कम्पनी बन्ने यात्राको औपचारिक सुरुवात गरेको हो।
सम्झौतामा २०२५ जुन ६ (२०८२ साल जेठ २३ गते) का दिन होटल गरिमा लिमिटेडका प्रबन्ध निर्देशक श्री विनोद पौडेल र निम्ब एस क्यापिटलका उपप्रमुख कार्यकारी अधिकृत श्री सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन्। उक्त सम्झौता काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच सम्पन्न भएको थियो।
सम्झौता अनुसार, निम्ब एस क्यापिटल लिमिटेड होटल गरिमा लिमिटेडको कर्पोरेट सल्लाहकारको रूपमा रहनेछ। यस अन्तर्गत कम्पनीलाई आईपीओको सम्पूर्ण तयारी प्रक्रिया, नियामकीय मापदण्डहरूको पालना, तथा संस्थागत संरचना र तत्परतामा सुधार ल्याउने कार्यमा सहयोग पुर्याइनेछ।
समारोहमा बोल्दै होटल गरिमा लिमिटेडका प्रबन्ध निर्देशक श्री विनोद पौडेलले निम्ब एस क्यापिटलसँगको सहकार्य कम्पनीका लागि पूँजी बजारमा सूचीकरणतर्फको एक महत्वपूर्ण उपलब्धि भएको बताए। उनले कम्पनीको पारदर्शिता, दिगो विकास र लगानी अवसरहरू विस्तार गर्ने लक्ष्यमा यस कदमले टेवा पुर्याउने विश्वास व्यक्त गरे।
त्यस्तै, निम्ब एस क्यापिटलका उपप्रमुख कार्यकारी अधिकृत श्री सचिन्द्र ढुङ्गानाले होटल गरिमा लिमिटेडलाई आवश्यक सम्पूर्ण परामर्श, योजना र प्राविधिक सहयोग प्रदान गर्दै आईपीओको सम्पूर्ण यात्रामा साथ दिने प्रतिबद्धता व्यक्त गरे।
सोल्टी वेस्टेन्ड इटहरी नामले परिचित यो पाँचतारे होटलको स्वामित्वमा रहेको होटल गरिमा लिमिटेडले कोशी प्रदेशमा पर्यटन र आतिथ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।