Date

आइत, असार १, २०८२
Sun, June 15, 2025

बीमा कम्पनीहरूले १० महिनामा ६७ अर्बभन्दा बढी दाबी भुक्तानी, ३५ अर्बजति अझै बाँकी

बीमा कम्पनीहरूले १० महिनामा ६७ अर्बभन्दा बढी दाबी भुक्तानी, ३५ अर्बजति अझै बाँकी

काठमाडाैं, ३० जेष्ठ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा नेपालका बीमा कम्पनीहरूले कुल ६७ अर्ब ५३ करोड २७ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बैशाख मसान्तसम्मको विवरणअनुसार कुल बीमा शुल्क आर्जनको ३८.३२ प्रतिशत रकम दाबी भुक्तानीमा खर्च गरिएको हो।

जीवन बीमाको तुलनामा निर्जीवन बीमाको बाँकी भुक्तानी धेरै

प्राधिकरणका अनुसार, जीवन बीमा कम्पनीहरूले ४८ अर्ब ९५ करोड ४२ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले १८ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेका छन्। जीवन बीमातर्फ २ लाख १८ हजार ९५१ र निर्जीवन बीमातर्फ १ लाख १३ हजार ९३७ वटा दाबी फछ्र्यौट गरिएको छ।

तर अझै करिब ३४ अर्ब ७८ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ। गत वर्षको तुलनामा यो बाँकी रकम ५१.७१ प्रतिशतले बढी हो। गत आवको सोही अवधिसम्म २२ अर्ब ९२ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी बाँकी थियो।

निर्जीवन बीमातर्फ सबैभन्दा बढी बाँकी

बाँकी रकममध्ये सबैभन्दा ठूलो हिस्सा निर्जीवन बीमा कम्पनीहरूमा छ। ती कम्पनीहरूमा हाल ३० अर्ब ३३ करोड रुपैयाँ बराबरको १ लाख ५९ हजार १०१ वटा दाबीहरू अझै भुक्तानी हुन बाँकी छन्। यो संख्या गत वर्षको सोही अवधिको १ लाख ३ हजार ९७ वटा दाबीभन्दा ५५ हजार बढी हो।

जीवन बीमाको बाँकी दाबी ९५  प्रतिशतले वृद्धि

जीवन बीमा कम्पनीहरूले पनि ४ अर्ब ४५ करोड रुपैयाँ बराबरको दाबी अझै भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ। गत वर्षको तुलनामा यो रकम झण्डै दोब्बर (९५.४२ प्रतिशत) हो। जीवन बीमा कम्पनीहरूमा ५३ हजार ४८१ वटा दाबीहरू बाँकी छन्, जुन गत वर्षको २७ हजार ११७ भन्दा दोब्बर भएको देखिन्छ।

दाबी भुक्तानी दर ४.७८ प्रतिशतले वृद्धि

समग्रमा, बीमा कम्पनीहरूको दाबी भुक्तानी दर ४.७८ प्रतिशतले बढेको देखिएको छ। गत आवको सोही अवधिमा कुल ६४ अर्ब ४५ करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको थियो। यस वर्ष सोही अवधिमा त्यो रकम बढेर ६७ अर्ब नाघेको हो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *