चीनले बनायो ब्ल्याकआउट बम, मानवीय क्षतिबिनै १० हजार वर्ग किमीमा अन्धकार छाउने

काठमाडौं, १७ असार । चीनले हालै विकास गरेको ग्राफाइट बम अर्थात् ब्ल्याकआउट बमलाई आधुनिक युद्धको परिदृश्यमा क्रान्तिकारी हतियारको रूपमा हेरिएको छ । यो हतियारले शत्रुको विद्युत् प्रणालीलाई नै निष्क्रिय बनाएर ठूलो क्षेत्रमा अन्धकार सिर्जना गर्ने ल्याकत राख्छ ।
साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार, यो बमले शत्रुको कमान्ड र कन्ट्रोल प्रणालीलाई अवरुद्ध गर्दै १० हजार वर्ग किलोमिटर क्षेत्रभित्र पूर्ण विद्युत् अवरोध अर्थात ब्ल्याकआउट ल्याउन सक्छ । यो बमले शारीरिक क्षति नपुर्याई शत्रुको विद्युत् आपूर्ति प्रणालीलाई निष्क्रिय बनाउँने गर्छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार यो बमले कार्बन–आधारित सूक्ष्म फिलामेन्ट्स अर्थात झिल्लीहरूको प्रयोग गर्दै हावामा फैलिएर उच्च भोल्टेजका विद्युत् तारहरूमा शर्ट सर्किट उत्पन्न गर्छ । यसले विद्युत् केन्द्रहरू, ट्रान्सफर्मरहरू र अन्य महत्वपूर्ण पूर्वाधारहरूलाई तत्काल निष्क्रिय बनाउँछ ।
परिणामस्वरूप, शत्रुको सैन्य कमान, हवाई रक्षा प्रणाली र अन्य प्राविधिक सञ्जालहरू तुरुन्त ठप्प हुन्छन् । यो हतियारको विशेषता भनेको यसले मानवीय क्षति न्यून राख्दै शत्रुको प्राविधिक क्षमतालाई कमजोर बनाउँछ ।
यो बमले कसरी काम गर्छ ?
चीनको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियोका अनुसार यो बम रकेटमार्फत प्रक्षेपण गर्न सकिन्छ जसले लक्षित क्षेत्रमा पुगेपछि ९० वटा साना बमहरू छोड्छन् । यी साना बमहरू भुइँमा ठोक्किएर हावामा विस्फोट हुन्छन् । विस्फोटलगतै कार्बनका सूक्ष्म फिलामेन्ट्सहरु हावामा फैलिन्छन् । यी कार्बन फिलामेन्ट्स विशेष रासायनिक प्रक्रियाबाट तयार गरिएका हुन्छन्, जसले उच्च भोल्टेजका विद्युत् तारहरूमा शर्ट सर्किट उत्पन्न गर्छन ।
यसले विद्युत् केन्द्रहरू, ट्रान्सफर्मरहरू र अन्य उपकरणहरूलाई तत्काल निष्क्रिय बनाएर १० हजार वर्ग किलोमिटर अर्थात लगभग ३ हजार ८६१ वर्ग माइलको क्षेत्रमा पूर्ण विद्युत् अवरोध गर्ने क्षमता राख्छन् । यो बमको वजन करीब ५०० किलोग्राम रहेको अनुमान गरिएको छ ।
यो ग्राफाइट बम चाइना एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन(सिएएसी)द्वारा विकसित गरिएको हो । यो कम्पनीले पहिले पनि हाइपरसोनिक मिसाइलहरू र अन्य गोप्य हतियारहरू विकास गरेको इतिहास छ । ग्राफाइट बमको अवधारणा नयाँ भने पक्कै होइन । सन् १९९१ मा अमेरिकी सेनाले खाडी युद्ध र सन् २००३ को इराक युद्धमा यस्तै खालका हतियारहरू प्रयोग गरेका थिए ।