सञ्चारमन्त्री गुरुङ र युएईको ओमोलाट सेक्युरिटी प्रिन्टिङ प्रेसका प्रतिनिधिबीच भेटवार्ता

चितवन, १९ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङसँग संयुक्त अरब इमिरेट्स (युएई) सरकारको ओमोलाट सेक्युरिटी प्रिन्टिङ प्रेसका प्रतिनिधिहरूले बुधबार भेटवार्ता गरेका छन्।
बुधबार मन्त्रालयमा भएको भेटमा मन्त्री गुरुङले नेपालको सुरक्षा मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ सेन्टर) को वर्तमान अवस्था र भविष्यका योजनाबारे जानकारी गराए। उनले आफू मन्त्री भएपछि तीन वर्षदेखि नेतृत्वविहीन रहेको सुरक्षा मुद्रण केन्द्रले कार्यकारी निर्देशक पाएको र मुद्रण प्रक्रिया सुरु गरेको बताए।
मन्त्री गुरुङले सरकारले ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरी सो केन्द्रबाट राहदानी, नागरिकता प्रमाणपत्र र बैंक नोटहरू छाप्ने योजना बनाएको जानकारी दिनुभयो। स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ प्रक्रिया पनि अगाडि बढेको उनले उल्लेख गरे।
युएईको ओमोलाट सेक्युरिटी प्रिन्टिङ प्रेसका महाप्रबन्धकहरूको समूहले मुद्रण मेसिनरीका सम्बन्धमा नेपाल सरकारसँग सहकार्य गर्न सकिने धारणा राखेका थिए। जवाफमा मन्त्री गुरुङले उनीहरूको भनाइप्रति आफू सकारात्मक रहेको र सरकारले उपयुक्त समयमा सहकार्यका लागि निर्णय लिने स्पष्ट पारे।