राष्ट्र बैंकद्वारा बजारबाट थप ४५ अर्ब रुपैयाँ खिच्ने, ६३ दिने निक्षेप संकलनको बोलकबोल आजै

काठमाडाैं, २२ असार । नेपाल राष्ट्र बैंकले आज (आइतबार) बैंकिङ प्रणालीबाट थप ४५ अर्ब रुपैयाँ खिच्ने भएको छ। बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट सो बराबरको रकम निक्षेपका रूपमा तान्न लागेको हो।
राष्ट्र बैंकले आजै अर्थात् असार २२ गते मध्यान्ह ३ बजे बोलकबोल (Auction) मार्फत सो बराबरको रकम ६३ दिनका लागि निक्षेप संकलन गर्न लागेको छ। यस प्रक्रियामा ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीहरू सहभागी हुन सक्नेछन्।
बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर प्रस्ताव गर्न सक्नेछन्। राष्ट्र बैंकले ब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिने जनाएको छ, जसमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ।
बोलकबोलमा बैंकहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्नेछन्। संकलित निक्षेपलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा पनि प्रयोग गर्न सकिनेछ। यस निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आगामी भदौ १ गते हुनेछ।