आर्थिक गतिविधि बढाउनेगरी मौद्रिक नीति ल्याउनुपर्छ: एफएनसीसीआई अध्यक्ष ढकाल
काठमाडाैं, २७ असार । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र ढकालले आर्थिक गतिविधि बढाउनेगरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन्। उनले बजेट र मौद्रिक नीतिबीच समन्वय भएरै आउने विश्वास व्यक्त गरे।
अध्यक्ष ढकालले निजी क्षेत्रले दिने सुझावलाई व्यक्तिगत फाइदाको रूपमा लिने सोचका कारण चाहिनेभन्दा बढी कडाइ गर्दा आर्थिक क्षेत्र चलायमान हुन नसकेको बताए। उनले बजेटको मर्मअनुसार नै कार्यान्वयन हुनुपर्नेमा जोड दिए।
ढकालले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले दिएको सुझावअनुसार हालसम्म ३० वटा कानुन परिवर्तन भइसकेको जानकारी गराए। यद्यपि, सरकारले बजेटमा हवाई टिकटमा लगाएको भ्याट लगायतका विषयमा हटाउन सुझाव दिए पनि त्यो कार्यान्वयन नभएकोमा उनले गुनासो गरे। आगामी दिनमा ती सुझावहरू कार्यान्वयन हुने विश्वास पनि उनले व्यक्त गरे।



