चार दशकको समर्पण, नबिल बैंकको नयाँ यात्रा: स्मार्ट नारीदेखि डिजिटल विस्तारसम्म

काठमाडाैं, २९ असार । नेपालको वाणिज्य बैंकिङ क्षेत्रमा सशक्त पहिचान बनाएको नबिल बैंकले आफ्नो ४१औं वार्षिकोत्सव मनाउँदै ४२औं वर्षमा प्रवेश गरेको छ। सन् १९८४ मा स्थापना भएको यो बैंकले सुरुदेखि नै आधुनिक वित्तीय प्रणालीको जडान, प्रविधि उपयोग तथा दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
बैंकले सेवा र उत्पादनलाई ग्राहकमैत्री बनाई नेपालको नम्बर एक बैंकको रूपमा आफूलाई स्थापित गरेको छ। ग्राहक सन्तुष्टि मात्र नभई समाज र वातावरणमै सकारात्मक प्रभाव पार्ने दिगो बैंकिङ अभ्यासमा पनि बैंकको योगदान उल्लेखनीय छ।
वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले नबिल बैंकले देशको आर्थिक समृद्धिमा खेलेको भूमिकालाई गर्वका साथ स्मरण गर्दै भविष्यमा अझ उत्तरदायी, नवीन र दिगो बैंकिङ अभ्यासमार्फत अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले ग्राहक, कर्मचारी, नियामक निकाय, सेयरधनी र सबै सरोकारवालालाई दिएको साथ र सहयोगका लागि आभार व्यक्त गरे।
अग्रगामी प्रविधि र वित्तीय सूचकांकमा नेतृत्व
नबिल बैंक नेपालको पहिलो कम्प्युटरमा आधारित सेवा दिने संयुक्त लगानी बैंकको रूपमा स्थापित भएको थियो। समयक्रमसँगै बैंकले डिजिटल बैंकिङमा अग्रणी भूमिका निर्वाह गर्दै एनबैंक, मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, अनलाइन कर्जा, अनलाइन खाताखोल्ने सुविधा जस्ता अत्याधुनिक सेवा प्रवाह गरिरहेको छ।
२०८२ असार २६ सम्म बैंकले कुल ४ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ भने ५ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ। बैंकले कृषि, ऊर्जा, साना तथा मझौला उद्यम र ब्याज अनुदान योजनामार्फत उत्पादन तथा रोजगारीमा टेवा पुर्याउने कर्जा विस्तार गरेको छ।
उल्लेखनीय रूपले, ४९ अर्ब ५० करोड कृषि क्षेत्रमा, ४० अर्ब ऊर्जा क्षेत्रमा, ३८ अर्ब ५० करोड साना तथा मझौला उद्यममा, र ७ अर्ब रुपैयाँ ब्याज अनुदानित योजनामार्फत कर्जा प्रवाह गरिएको छ।
वित्तीय सूचकहरूमा चौतर्फी वृद्धि
नबिल बैंकको प्रारम्भिक नेटवर्थ रू. २ करोड ८० लाखबाट बढेर आव २०८१/८२ को तेस्रो त्रैमाससम्म ६१ अर्ब २४ करोड पुगेको छ। त्यस्तै, निक्षेप संकलन १४ करोड ६० लाखबाट बढेर ५ खर्ब १० अर्ब ६६ करोड पुगेको छ। कर्जा प्रवाह १३ करोड ३० लाखबाट ४ खर्ब १५ अर्ब ८२ करोड पुगेको छ भने कुल सम्पत्ति २६ करोड ९० लाखबाट ६ खर्ब ११ अर्ब ८६ करोड पुगेको छ।
नाफाको दृष्टिमा पनि बैंकले उल्लेखनीय प्रगति गरेको छ। प्रारम्भिक समयमा करपछिको नाफा रू. १० लाख मात्र रहेकोमा आव २०८१/८२ को तेस्रो त्रैमासमा ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।
बैंकले २ वटा शाखा र १४४ कर्मचारीबाट सुरु गरेको सेवा हाल २६८ शाखा, ३२१ एटीएम, २१ एक्सटेन्सन काउन्टर र २४३१ कर्मचारीमार्फत करिब २५ लाख ग्राहकलाई सेवा दिइरहेको छ।
वार्षिकोत्सवमा विशेष अफर र महिलामैत्री योजना
नबिल बैंकले ४१औं वार्षिकोत्सवको अवसरमा ४१ दिने विशेष योजना ल्याएको छ। असार २८ देखि भदौ ५ गतेसम्म नयाँ बचत खाता खोल्ने ग्राहकलाई पहिलो वर्षको लागि डेबिट कार्ड निःशुल्क दिइनेछ।
त्यसैगरी, महिलालाई लक्षित गर्दै ‘नबिल स्मार्ट नारी घर कर्जा’ योजना सार्वजनिक गरिएको छ। यस योजनाअन्तर्गत महिलाले घर खरिद, निर्माण वा अन्य बैंकबाट कर्जा सार्न न्यूनतम ७ लाखदेखि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। पहिलोपटक घर किन्ने महिलालाई ७० प्रतिशत कर्जा दिइनेछ। कर्जाको अवधि अधिकतम ३५ वर्षसम्म रहने र ब्याजदर कर्जाको आधार दरमा १.५ प्रतिशत प्रिमियम रहनेछ।
ग्राहकले किस्ता आफू अनुकूल छान्न सक्ने सुविधा, जीवनभर निःशुल्क क्रेडिट कार्ड तथा दुई लाख रुपैयाँसम्मको सुविधा पाउने छन्। यस योजनालाई देशभरका शाखाबाट कार्यान्वयन गरिनेछ।