सहकारी ऋणीलाई भदौ मसान्तसम्म अन्तिम मौका, नत्र कारबाही

काठमाडाैं, ९ साउन । बागमती प्रदेश सरकारअन्तर्गतको सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त पाँच सहकारी संस्थाका ऋणीहरूलाई भदौ मसान्त (भदौ ३१) भित्र बक्यौता तिर्न अन्तिम ताकेता दिएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगरले सार्वजनिक सूचना प्रकाशित गर्दै पटक–पटकको आग्रहलाई बेवास्ता गर्ने ऋणीहरूमाथि अब कानुनी कारवाही अघि बढाइने चेतावनी दिएको हो।
ताकेतामा परेका सहकारीहरूमा सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सुमेरु बचत तथा ऋण सहकारी संस्था रहेका छन्।
यी संस्थाहरू क्रमशः २०८० भदौ २१, २०८१ कात्तिक ११ र २०८१ पुस २८ मा समस्याग्रस्त सहकारीको सूचीमा सूचीकृत भएका थिए। समितिका अनुसार तोकिएको म्यादसम्म ऋण तिर्न अस्वीकार गरेमा बक्यौता साँवा तथा ब्याजसहित हर्जाना समेत असुल उपर गरिनेछ। साथै, अचल सम्पत्ति कब्जा गर्ने, कानुनी मुद्दा दायर गर्ने जस्ता कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।
यसअघि समितिले फोन, व्यक्तिगत सम्पर्क र अन्य माध्यमबाट पटक–पटक ऋण तिर्न आग्रह गरेपनि धेरैजसो ऋणीहरूले बेवास्ता गरेकाले अन्ततः सार्वजनिक ताकेता गर्नुपरेको जनाइएको छ।
समितिले समयमै तिर्ने ऋणीलाई कानुनी जटिलताबाट जोगिन पुनः आग्रह गर्दै भदौ मसान्तपछि कसैलाई पनि छुट नहुने स्पष्ट संकेत दिएको छ।