नेपालको अर्थतन्त्रमा सुधारको संकेत, वृद्धिदर ४.६ प्रतिशत पुग्ने अनुमान

काठमाडाैं, ९ साउन । कोरोना महामारी, राजनीतिक अस्थिरता र विश्वव्यापी आर्थिक मन्दीको प्रभाव झेलिरहेको नेपाली अर्थतन्त्रमा अब सुधारको संकेत देखा परेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८१–८२ को एकीकृत आर्थिक गतिविधि अध्ययन (अर्ध–वार्षिक प्रतिवेदन) अनुसार, यस वर्षको वृद्धिदर ४.६ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको ३.७ प्रतिशतभन्दा उल्लेखनीय सुधार हो।
प्रतिवेदनका अनुसार आर्थिक गतिविधि क्रमशः लयमा फर्किएको छ र मुख्यतः कृषि, उद्योग, सेवा र पूर्वाधार क्षेत्रको सुधारले यस वृद्धिमा योगदान गरेको छ। विशेष गरेर अघिल्लो वर्ष संकुचनमा रहेका क्षेत्रहरू यस वर्ष सकारात्मक दिशामा अघि बढेको देखिन्छ।
मुद्रास्फीति नियन्त्रणमा र मूल्य स्थायित्व
पहिलो छ महिनामा मुद्रास्फीति सापेक्षतः न्यून देखिएको छ। भारतमा मूल्य वृद्धि नियन्त्रणमा रहनु र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आउनुले मूल्य चाप घटाएको हो। तथापि, भू–राजनीतिक अस्थिरता र आपूर्ति श्रृंखलामा अवरोधका कारण केही जोखिम भने कायम रहेको प्रतिवेदनले जनाएको छ।
कृषि र पशुपालन: उत्पादनमा सामान्य वृद्धि
सिञ्चित जमिनको क्षेत्रफल बढ्नु, रासायनिक मल र उन्नत बीउको सहज पहुँच, मौसम अनुकूल हुनुका कारण कृषि उत्पादनमा वृद्धि भएको छ। पशुपालन क्षेत्रमा पनि दूध र मासुको माग वृद्धि, युवा पुस्ताको आकर्षण र पशु सेवा पहुँचले सुधार देखिएको छ।
औद्योगिक उत्पादन: विद्युत् आपूर्तिसँगै गति
औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिमा भएको वृद्धिले उद्योगहरूको क्षमता वृद्धि गरेको छ। निजी क्षेत्रमा लगानी विस्तार, कर्जा प्रवाहमा सहजता र पूर्वाधारको सुधारले औद्योगिक उत्पादनलाई उभार दिएको छ।
सेवा क्षेत्र: पर्यटन र वित्तीय गतिविधिको वृद्धि
विदेशी पर्यटक आगमन, आन्तरिक पर्यटन र बैंकिङ कर्जाको सहज पहुँचले सेवा क्षेत्रलाई विस्तार गरेको छ। यातायात, संचार र रियल स्टेट जस्ता उपक्षेत्रहरू पनि विस्तारको मार्गमा छन्।
पूर्वाधार: निर्माण गतिविधिमा पुनः उर्जा
पुँजीगत खर्च र राजस्वमा सन्तुलन नदेखिए पनि सडक स्तरोन्नति, जलविद्युत् आयोजना र ट्रान्समिसन लाइन विस्तारजस्ता कार्यहरूले पूर्वाधार क्षेत्रमा गति ल्याएको छ। सरकारको पहलले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने आँकलन गरिएको छ।
बाह्य क्षेत्र: शोधनान्तर वचत र विदेशी मुद्रा सञ्चिति सन्तोषजनक
निर्यात र विप्रेषणको प्रवाहमा वृद्धिले शोधनान्तर वचतमा उल्लेख्य वृद्धि गरेको छ। विदेशी मुद्रा सञ्चिति पनि सुविधाजनक अवस्थामा रहेको बताइएको छ ।