थाइल्यान्ड–कम्बोडिया सीमा झडप रोक्न वार्ता तयारी

काठमाडाैं, ११ साउन । तीन दिनसम्म चलेको भीषण सीमा झडपपछि अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाई र कम्बोडियाका प्रधानमन्त्री हुन मानेटबीच तत्काल वार्ताको सहमति भएको घोषणा गरेका छन्।
थाइल्यान्डले युद्धविरामका लागि सैद्धान्तिक सहमति जनाएको छ तर कम्बोडियाको “इमान्दार प्रयास” आवश्यक रहेको स्पष्ट पारेको छ। प्रधानमन्त्री फुमथामले राष्ट्रपति ट्रम्पमार्फत द्विपक्षीय संवादको तयारी रहेको जानकारी गराएका छन्।
राष्ट्रपति ट्रम्पले दुबै देशलाई चेतावनी दिँदै भने, “यदि द्वन्द्व रोकिएन भने भविष्यका अमेरिकी व्यापार सम्झौताहरू जोखिममा पर्न सक्छन्।” उनले दुबै पक्ष “तत्काल युद्धविराम र शान्तिको खोजीमा” रहेको उल्लेख गरे।
यो सीमा झडप पछिल्लो १३ वर्षयताकै सबैभन्दा भयावह मानिएको छ। हालसम्म ३० भन्दा बढीको मृत्यु भएको छ भने १ लाख ३० हजारभन्दा धेरै विस्थापित भएका छन्। झडप थाइल्यान्डको त्राट प्रान्त र कम्बोडियाको पुरसातसम्म फैलिएको छ।
थाइल्यान्डले २० जनाको मृत्यु (७ सैनिक, १३ नागरिक) पुष्टि गरेको छ भने कम्बोडियाले १३ (५ सैनिक, ८ नागरिक) को मृत्यु पुष्टि गरेको छ। यो तनाव गत मे महिनामा एक कम्बोडियाली सैनिकको हत्या भएपछि सुरु भएको थियो, जसपछिका दिनहरूमा दुवै देशले सैन्य तयारी तीव्र बनाएका थिए।