Date

मङ्ल, साउन १३, २०८२
Tue, July 29, 2025

‘गाग्री रित्तिँदै छन्, अब काम देखाउने बेला हो’ — मन्त्री खड्काको निर्देशन

‘गाग्री रित्तिँदै छन्, अब काम देखाउने बेला हो’ — मन्त्री खड्काको निर्देशन

काठमाडाैं, ११ साउन । मधेश प्रदेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरिएको भोलिपल्टै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले मन्त्रालयअन्तर्गतका सबै विभाग र निकायलाई तत्काल राहत कार्य सुरु गर्न कडा निर्देशन दिएका छन्।

आइतबार मन्त्रालयमा आयोजित आपतकालीन उच्चस्तरीय बैठकमा मन्त्री खड्काले जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिवहरू सुरेश आचार्य र सरिता दवाडी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, सिंचाई विभागका महानिर्देशक संजिव बराल लगायत अधिकारीहरूसँग छलफल गर्दै आठवटै जिल्लामा सिंचाई र खानेपानीका काममा ढिलाइ सह्य नहुने बताएका हुन्।

‘कागजी प्रक्रिया, टेन्डर झंझट, खरीद प्रणालीको जटिलता भन्दा माथि उठेर, जुनसुकै कानुनी विकल्प प्रयोग गरेर भए पनि जनतालाई तत्काल राहत दिनुस्’, मन्त्री खड्काले भने, ‘जनताको खेत सुक्दै छन्, गाग्री रित्तिँदै छन्, अब निष्क्रिय बस्न पाइँदैन।’

उनले डिप बोरिङ, सोलार पम्प, अस्थायी मोटर सेट तथा पाइपलाइन बिछ्याउने काम तुरुन्त सुरु गर्न निर्देशन दिए। साथै, कम पानीमा पनि उत्पादन दिन सक्ने उन्नत धान बीउ र कृषि उपकरण किसानसम्म पु-याउने तयारी गर्न पनि भने।

खानेपानी व्यवस्थापनलाई समेत प्राथमिकतामा राख्न निर्देशन दिँदै मन्त्रीले राजधानीमै बसेर निर्देशन दिने मात्र होइन, परिणाम देखाउने समय आएको बताए। बैठकमा सहभागी अधिकारी तथा प्राविधिकहरूले मन्त्रीको निर्देशन कार्यान्वयन गर्न प्रतिबद्धता जनाएका छन्।

अबदेखि हरेक २४ घण्टामा प्रगति विवरण बुझाउने व्यवस्था पनि सुरु गरिएको छ। संकटको यो घडीमा सरकारको सक्रियता र शीघ्र निर्णयले मधेशवासीलाई राहत मिल्ने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *