अमेरिका–ईयू सहमतिः व्यापार युद्ध टर्यो
काठमाडाैं, १२ साउन । संयुक्त राज्य अमेरिका र युरोपेली संघबीच नयाँ व्यापार सम्झौता भएको छ, जसले सम्भावित व्यापार युद्धलाई टार्दै दुई ठूला आर्थिक साझेदारबीच स्थायित्व ल्याएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लायनबीच स्कटल्याण्डमा भएको निर्णायक वार्तापछि सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार युरोपेली संघबाट आयात हुने सबै वस्तुहरूमा १५ प्रतिशत अमेरिकी भन्सार शुल्कमा सहमति गरिएको छ। ट्रम्पले यसअघि युरोपेली वस्तुहरूमा ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने चेतावनी दिएका थिए। उनले शुक्रबारदेखि ३० प्रतिशत आयात कर लागु गर्ने चेतावनी दिएका थिए, जुन अब आधा अर्थात् १५ प्रतिशतमा सीमित भएको छ।
ट्रम्पले २७ सदस्यीय युरोपेली संघले पनि केही निश्चित अमेरिकी उत्पादनहरूमा शून्य प्रतिशत भन्सार दर खुला गर्ने बताएका छन्। उता अध्यक्ष भोन डेर लायनले यो सम्झौताले दुवै पक्षबीच स्थायित्व ल्याउने बताउँदै त्यसले विश्व व्यापारको करिब एक तिहाइ हिस्सा ओगट्ने यी दुई आर्थिक शक्ति बीच सन्तुलन कायम गर्ने विश्वास व्यक्त गरिन्।
सम्झौताअनुसार हवाईजहाज, सेमिकन्डक्टर डिभाइस, सामान्य औषधि तथा केही कृषि उत्पादनहरूमा कर हटाइएको छ। यस्ता उद्योगहरूले सम्झौतालाई सकारात्मक रूपमा लिएका छन्। तर मोटर गाडी उद्योगले भने असन्तुष्टि जनाएको छ।
सम्झौताअनुसार युरोपेली गाडीहरूमा १५ प्रतिशत कर लगाइनेछ, जुन मेक्सिकोबाट आउने गाडीहरूले भुक्तान गर्ने २५ प्रतिशत करभन्दा कम भए पनि प्रतिस्पर्धामा असमानता ल्याउने उद्योगहरूको भनाइ छ।
भोन डेर लायनले औषधिजन्य वस्तुहरू प्रारम्भिक सम्झौतामा समावेश भएको जनाइन्। तर ट्रम्पले त्यसमा फेरबदलको संकेत दिएका छन्।



