रेबिज र सर्पदंश औषधी सबै प्रदेशमा आपूर्ति, बागमती र मधेश प्राथमिकतामा

काठमाडाैं, १२ साउन । स्वास्थ्य सेवा विभागले रेबिजविरुद्धको भ्याक्सिन र सर्पदंश उपचारमा प्रयोग हुने भेनम देशभरका सातै प्रदेशमा आपूर्ति गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको विभागले अभावको खबर सार्वजनिक भएपछि तीव्र चासो दिँदै सबै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमा औषधी पुर्याएको हो। विभागको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीका अनुसार औषधीहरू खरिद भएर वितरणको क्रममा रहेका थिए, जुन अब प्रदेशस्तरीय संस्थामा पुर्याउने तयारीमा छन्।
अभावको समाचारपछि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले तत्काल आपूर्ति व्यवस्थापन गर्न निर्देशन दिएका थिए। मन्त्री पौडेलले भविष्यमा समेत अभाव नहोस भनेर दीर्घकालीन उपाय अपनाउन मातहतका अधिकारीहरूलाई निर्देशन दिएका थिए। विभागका अनुसार हाल ५१,१८० भायल रेबिजविरुद्धको खोप सातै प्रदेशमा आपूर्ति गरिएको छ। सबैभन्दा बढी १०,०८० भायल बागमती प्रदेशमा पुर्याइएको छ। बागमतीले सर्पदंशविरुद्धको १,००० भायल भेनम पनि पाएको छ।
सर्पदंशको बढी समस्या हुने मधेश प्रदेशमा २,५०० भायल भेनम र करिब ५,००० भायल रेबिजविरुद्धको खोप आपूर्ति गरिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मागको आधारमा अन्य सबै प्रदेशमा पनि औषधी आपूर्ति गरिने जानकारी दिए। विभागले हाल आपूर्ति भएको औषधीपछि अर्को दुई महिनाभित्र चार गुणा बढी आपूर्ति हुने व्यवस्था मिलाइसकेको जनाएको छ।
यो आपूर्तिसँगै पछिल्लो समय देखिएको औषधी अभावको समस्या तत्कालका लागि समाधान भएको मन्त्रालयले स्पष्ट पारेको छ।