Date

शनि, साउन १७, २०८२
Sat, August 2, 2025

अमेरिकामा कुलमान र ज्ञानेन्द्रलाई ‘ग्लोबल हिरो’ सम्मान

अमेरिकामा कुलमान र ज्ञानेन्द्रलाई ‘ग्लोबल हिरो’ सम्मान

काठमाडाैं, १२ साउन । ‘हामी नेपाली ग्लोबल’ संस्थाले आयोजना गरेको विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ। आइतबार साँझ न्यूयोर्कमा आयोजित भव्य समारोहमा उनीहरूलाई नेपालको परिवर्तनका लागि उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो।

पुरस्कार ग्रहण गर्दै कुलमान घिसिङले नेपालले भोगेको १८ घण्टासम्मको लोडसेडिङको समय सम्झँदै त्यो अवस्था अन्त्य गर्न सबैको साझा प्रयास रहेको उल्लेख गरे। “आज बत्ती नपुगेको गाउँ छैन। घाटामा रहेको प्राधिकरणलाई नाफामा रूपान्तरण गर्‍यौँ,” उनले भने। अब ‘उज्यालो नेपाल’ अभियानमार्फत सुशासन, सामाजिक न्याय, रोजगारी, गरिबी न्यूनीकरणजस्ता विषयमा लागिपरेको बताउँदै उनले सबैसँग अभियानमा साथ दिन आग्रह गरे।

सांसद ज्ञानेन्द्र शाहीले प्राकृतिक सौन्दर्य र विविधतामा एकता भएको नेपाल आज विश्वकै गरीब राष्ट्रको रूपमा चिनिनु विडम्बनापूर्ण भएको बताए। “अब सीप र क्षमतालाई राष्ट्रिय शक्तिमा बदल्नुपर्छ। फर्केर नेपाल जानुस्, फर्किने वातावरण हामी बनाउँछौँ,” उनले भने। शाहीले कुलमान घिसिङलाई कुशल व्यवस्थापक मात्र नभई राष्ट्रिय नायकका रूपमा चित्रण गर्दै यस्ता नायकहरू प्रत्येक क्षेत्रमा आवश्यक रहेको उल्लेख गरे।

वंशजबाट नागरिकता नदिने चलनप्रति आपत्ति जनाउँदै उनले सबै नेपालीलाई इमानदारीपूर्वक राष्ट्र निर्माणमा लाग्न आग्रह गरे। “राजनीतिमा जान्छु भन्ने सोच थिएन, तर फोहोर पोखरी सफा गर्न छेउमै बसेर हेरिरहनु हुन्न, हाम्रै जिम्मेवारी हो त्यसमा हाम्फाल्नु,” उनले भावुक भनाइ व्यक्त गरे। समारोहमा सम्मानित भएकी गायिका आनी छोइङ डोल्माले मुलुकभित्र र बाहिरबाट योगदान दिइरहेका नेपालीहरूलाई प्रोत्साहित गर्दै उनीहरूको पहिचान स्थापित गर्ने संस्थाको प्रयासको सराहना गरिन्।

कार्यक्रममा ‘हामी नेपाली ग्लोबल’ का अध्यक्ष अमृत लामा र उपाध्यक्ष सुनिता खत्रीले सम्मान प्रदान गरेका थिए। कार्यक्रममा संगीत प्रस्तुति तथा प्रवासमा बसेका नेपालीहरूको खेल, संगीत, व्यवसायलगायत विभिन्न क्षेत्रमा पुर्‍याएको योगदानको समेत सम्मान गरिएको थियो। संस्थाका अनुसार, ‘हामी नेपाली ग्लोबल’ राजनीतिक, धार्मिक, जातीय वा वर्गीय विभाजनभन्दा माथि उठेर विश्वभरका नेपालीहरूलाई एकताबद्ध गर्ने लक्ष्यका साथ स्थापना गरिएको हो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *