धान रोपाइँमा सुस्तता, मधेशमा सबैभन्दा कम प्रगति

काठमाडाैं, १२ साउन । देशभर कुल लक्ष्यको ७८.८४ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। आइतबारसम्मको तथ्याङ्कअनुसार गत वर्षको यही समयको तुलनामा यस वर्ष रोपाइँमा ढिलाइ भएको देखिएको छ।
मन्त्रालयका अनुसार अघिल्लो वर्ष साउन महिनाको अन्त्यसम्म ९२.६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो, जुन तुलनामा यसपटक प्रगति सुस्त देखिएको छ। यस पटकको ढिलाइमा मधेशलगायत केही क्षेत्रमा समयमै वर्षा नहुनु प्रमुख कारण रहेको मन्त्रालयको भनाइ छ।
प्रदेशअनुसार विवरण हेर्दा सुदूरपश्चिम प्रदेशले सबैभन्दा राम्रो प्रगति गर्दै ९८.९४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकाएको छ। त्यसपछि लुम्बिनीमा ९२.०४ प्रतिशत र कर्णालीमा ९१.३८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
बागमती प्रदेशले ८७.१९ प्रतिशत, गण्डकीले ८४.५३ प्रतिशत, र कोशी प्रदेशले ८०.३९ प्रतिशत क्षेत्रफलमा धान रोपेको छ।
सबैभन्दा कम प्रगति मधेश प्रदेशमा देखिएको छ, जहाँ केवल ५१.८२ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको छ। मधेशमा रोपाइँ ढिलो हुनुमा अव्यवस्थित वर्षा र सिंचाइको समस्या मुख्य चुनौतीका रूपमा देखिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले आगामी दिनमा मौसम अनुकूल रहे बाँकी रोपाइँ कार्यलाई तीव्रता दिने आशा व्यक्त गरेको छ। धान नेपालको मुख्य अन्नबाली भएकाले यसको रोपाइँ र उत्पादनले समग्र खाद्य सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने बताइएको छ।