एमसीसी पुनः सक्रिय, प्रसारण र सडक परियोजनामा गति

काठमाडाैं, १२ साउन । केही समयअघि अस्थायी रूपमा रोकिएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अब पुनः सक्रिय रूपमा अघि बढ्ने भएको छ।
अर्थ मन्त्रालयका अनुसार साउन ८ गते एमसीसीले नेपाललाई पत्र पठाउँदै “नेपाल कम्प्याक्टको पुनरावलोकन प्रक्रिया सकिएको” र “परियोजना निरन्तरता दिन सिफारिस गरिएको” जानकारी दिएको हो। यसले एमसीसी परियोजनालाई पूर्ण रूपमा कार्यान्वयनमा लैजाने बाटो खुलाएको छ।
नेपाल र अमेरिकाबीच २०७४ भदौ २९ गते हस्ताक्षर भएको यो सम्झौता यस वर्ष माघमा अमेरिकी राष्ट्रपति कार्यालयको कार्यकारी आदेशपछि अस्थायी रूपमा रोकिएको थियो। तर अब एमसीसीले नेपालसँगको सहकार्य यथावत् रूपमा जारी रहने स्पष्ट पारेको छ।
यस घोषणासँगै प्रसारण लाइन निर्माण र सडक पूर्वाधार विकासका कार्यहरू पुनः तीव्र गतिमा अगाडि बढ्ने सरकारको अपेक्षा छ। सम्झौताअनुसार, यो परियोजनाले अर्थतन्त्रमा ऊर्जा र यातायात पूर्वाधारमार्फत दीर्घकालीन योगदान पुर्याउनेछ।
एमसीसी पुनः सुरु हुने खबरले सरकारी संयन्त्रलाई सक्रिय बनाउने र अन्तर्राष्ट्रिय सहकार्यप्रति सकारात्मक सन्देश दिने विश्वास गरिएको छ।