अटोमोबाइल क्षेत्रमा स्थिर कर्जा नीति आवश्यक: नाडा अन्तरक्रिया

काठमाडाैं, ६ भदाै । नाडा अटो शो २०२५ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा बिहीबार आयोजित ‘कर्जा नीतिमा स्थिरता: अटोमोबाइल बजारको दीर्घकालिन विकासको आधार’ विषयक अन्तरक्रियामा वक्ताहरूले अटोमोबाइल क्षेत्रका लागि स्थिर कर्जा नीति आवश्यक रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक कृष्ण दुलालले अटो क्षेत्रको भविष्य उज्जवल रहेको उल्लेख गर्दै लगानीमा जोखिम नलिने वातावरण सिर्जना गर्नुपर्ने बताए। उनले कर्मचारीलाई बाइक र गाडी किन्न २० वर्षसम्मको कर्जा प्रवाह गर्नुपर्ने सुझाएका छन्।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटोमोबाइल क्षेत्रमा दुई खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको जानकारी दिए। बैंक र हायर पर्चेज कम्पनीहरूले निजी र व्यवसायिक गाडीमा फरक ‘लोन टु भ्यालू’ रेसियो र ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था रहेको उनको भनाइ थियो।
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले अटो क्षेत्रमा प्रवाह भएको कर्जामा खराब कर्जा न्यून रहेको र लगानी सुरक्षित रहेको बताए। उनले अटो क्षेत्रमा कर्जा प्रवाह गर्दा विक्री पछि सेवा र स्थानीय सर्भिसलाई पनि ध्यानमा राखिएको उल्लेख गरे।
भेन्चर हायर पर्चेजका सीईओ बाबुराम शर्माले अटोमोबाइल क्षेत्रमा हायर पर्चेजमार्फत २६ अर्ब ५० करोड रुपैयाँ लगानी भएको र गाउँ गाउँसम्म कर्जा पुग्ने व्यवस्था रहेको बताए। उनले हायर पर्चेज कम्पनीलाई कर्जा प्रवाहमा सहजिकरण गर्न आवश्यक रहेको पनि बताए।
नाफिजकी अध्यक्ष मेनुका कार्कीले यस अन्तरक्रियाले नीति निर्माणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गरिन्। वक्ताहरूले अटोमोबाइल क्षेत्रलाई अनुत्पादक क्षेत्र नभई दीर्घकालीन लगानीयोग्य क्षेत्र भएको पनि जोड दिएका छन्।