शिक्षक महासङ्घको आन्दोलन सख्त, भदौ ९ देखि केन्द्रित कार्यक्रम

काठमाडाैं, ६ भदाै । नेपाल शिक्षक महासङ्घले आफ्ना माग सम्बोधन नभएको भन्दै थप कडा आन्दोलन गर्ने घोषणा गरेको छ। महासङ्घले शुक्रबार पत्रकार सम्मेलनमा अबको आन्दोलन विगतको भन्दा सशक्त र दबाबपूर्ण हुने चेतावनी दिएको छ।
महासङ्घका अनुसार भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइनेछ। त्यसपछि भदौ ११ देखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा प्रतिनिधिमूलक ध्यानाकर्षण पत्र बुझाइने र दुई घण्टा धर्ना दिने कार्यक्रम रहनेछ।
भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र दुई घण्टा धर्ना दिने कार्यक्रम हुने महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन्।
उनका अनुसार भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेछन्, जसमा अवधारणात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम रहने तयारी गरिएको छ। अध्यक्ष सुवेदीले भने, ‘अबको आन्दोलन हिजोको भन्दा कडा र दबाबपूर्ण हुनेछ’ र सरकारले २७ बुँदे सहमति अनुसार आफ्ना माग पुरा नगरेको दाबी गरे।