Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

काठमाडौंका सम्पदा क्षेत्रमा, महानगरको निःशुल्क वाइफाइ सेवा

काठमाडौंका सम्पदा क्षेत्रमा, महानगरको निःशुल्क वाइफाइ सेवा

काठमाडौं १८ भदौ । काठमाडौंका बिभिन्न स्थानका सम्पदा क्षेत्रमा काठमाण्डौ महानगरपालिकाले निः शुल्क वाईफाई सेवा दिन शुरु गरेको छ । काठमाडौं महानगर क्षेत्रलाई निःशुल्क वाइफाइ क्षेत्र बनाउने प्रयासको परीक्षणमा काम भइरहेको जनाउँदै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, प्रविधि उपयोग विस्तार गर्दा सुरक्षा सावधानी अपनाउनु पर्ने बताए । वल्र्ड लिङ्कको सामाजिक उत्तरदायित्व अन्तर्गतको लगानीमा महानगरले आइतबारबाट काठमाडौंका मुख्य सम्पदा क्षेत्र र पार्कमा निःशुल्क वाइफाइ सेवा शुरुवात् गर्दै प्रमुख शाक्यले — विद्युतीय शासन र महानगरबासीलाई उपलब्ध गराइने सुविधामा महानगरको घोषित नीतिबमोजिम सेवा शुरु भएको बताएका हुन् । “हामी महानगर क्षेत्रलाई फ्रि वाइफाइ क्षेत्र बनाउने प्रयासमा छौं । यो काम गर्दा सुरक्षा सावधानी अपनाउनु पर्ने भएकोले अहिले उपलब्ध गराइएका सेवाको परिणाममा निगरानी गरिरहेका छौं । यसबाट प्राप्त नतिजा हेरेर थप काम गर्छौ ।”

“इन्टरनेटको लत कहिलेकाहीँ समस्या बन्न सक्छ । फ्रि वाइफाइ पाएँ भन्दैमा युवायुवती कामै छोडेर फिल्म हेर्नतिर लागे भने अभिभावकबाट गुनासो आउन सक्छ । त्यसैले सम्भावित जोखिम हेरेर कसरी काम गर्ने भन्नेमा हामी सचेत छौं ।” मेयर शाक्यको भनाइ छ ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य नरोत्तम वैद्यले — सम्पदा क्षेत्रमा वितरण गरिएको निःशुल्क वाइफाइबाट आध्यात्मिक आचरणमा पुग्न सक्ने असरमाथि ख्याल गर्नुपर्ने सुझाव दिनुभयो भने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले — धार्मिक स्थललाई प्रविधिमैत्री बनाउने कामको सह्राना गर्नुभयो । इन्टरनेट सेवाको विस्तारबाट सामाजिक जीवनमा सुधार ल्याउने काममा सामाजिक उत्तर दायित्व अन्तर्गत आफूले काम गरेको वल्र्डलिङ्कका अध्यक्ष दिलिप अग्रवाल बताउनुहुन्छ ।
वल्र्डलिङ्कले, महानगरका सम्पदा क्षेत्रहरु बसन्तपुर, बौद्ध, स्वयम्भू, शंखपार्क, वालाजु वाइसधारा, पशुपति क्षेत्रमा सेवा जोडेको छ । सेवा सञ्चालन गर्न २०७४ जेठ १८ गते काठमाडौं महानगरपालिका र वल्र्ड लिङ्कबीच सम्झौता भएको थियो ।

वाइफाइ जडान सम्बन्धी गरिएको अध्ययन अनुसार एक पटकमा वाइफाइका प्रयोगकर्ताको न्युनतम संख्यालाई आधार मानेर हरेक स्थानमा १० एमविपिएस व्याण्डविथ क्षमताका उपकरण जडान गरिएका छन् । जसमा पशुपति क्षेत्रमा ११ वटा एक्सेस प्वाइन्ट राखिएका छन् भने बौद्धमा ४ वटा, शंखपार्कमा २ वटा, वालाजु वाइसधारा उद्यानमा ७ वटा, स्वयम्भूमा ५ वटा र वसन्तपुरमा ९ वटा प्वाइन्ट छन् ।

अहिले जडान गरिएका उपकरणबाट, पशुपति क्षेत्रमा एक पटकमा २ सय देखि ७ सय जनासम्म एकै पटक वाइफाइमा जोडिन सक्छन् । त्यस्तै बौद्धमा २ सय ५० जनादेखि ५ सय जना, शंखपार्कमा ५० देखि २ सय जना, बालाजुमा २ सय देखि ७ सय जना, स्वयम्भूमा २ सय देखि ३ सय जना, बसन्तपुरमा २ सय देखि ३ सय जनासम्मले एकै पटक सेवा लिनेछन् ।

कसरी चल्छ वाइफाई
बल्र्ड लिङ्कका अनुसार सेवा जडान भएका क्षेत्रमा स्मार्ट फोन प्रयोगकर्ता पुगेपछि सिस्टमले नेटवर्क भएको नोटिफिसन पठाउँछ । यसमा थिचेपछि एउटा पेज खुल्छ । पेजमा प्रयोगकर्ताले नाम र मोवाइल नम्बर भर्नु पर्छ । यसरी विवरण भरिसकेपछि सिस्टमले मोवाइलमा एउटा कोड पठाउँछ । त्यो कोड भरिसकेपछि वाइफाइ चलाउन सकिन्छ । सेवामा सवैको पहुँच पुगोस् र दुरुपयोग नहोस् भन्नका लागि प्रयोगकर्तालाई एक पटकमा ३० मिनेट समय दिइनेछ । ३० मिनेट पुगेपछि सिस्टमले उसलाई त्यसदिनका लागि कनेक्सन हुनबाट रोक्नेछ । तर उसका लागि अर्को एक्सेस प्वाइन्ट भने खुल्ला नै रहनेछ । महानगरको सूचना प्रविधि शाखा प्रमुख राम सापकोटाका अनुसार, एक जनाप्रयोगकर्ताले एकै दिनमा एउटै डिभाइस (फोन वा ल्यापटप) बाट सेवा लिँदा दोश्रो पटकदेखि इमेल ठेगानासमेत उपलब्ध गराउनु पर्नेछ । सुरक्षाका कोणबाट यसो गरिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x