काकडभिट्टाबाट कृषि निर्यात १.३२ अर्ब, आयात १.६९ अर्ब

काठमाडाैं, १६ भदाै । काकडभिट्टा भन्सार पोइन्टमार्फत चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा कृषि उत्पादनको १.३२ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ।
काकडभिट्टा स्थित बिरुवा क्वारेन्टिन तथा कीटनाशक व्यवस्थापन कार्यालयले दिएको जानकारी अनुसार प्रमुख निर्यात वस्तुमा कालो अलैँची, चिया, प्लाइवुड, अदुवा, झाडू घाँस लगायतका वस्तुहरू रहेका छन्।
कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार, सो अवधिमा सबैभन्दा बढी आम्दानी चियाबाट भएको छ। साउन महिनामा चियाको निर्यात मूल्य ३८ करोड रुपैयाँ, कालो अलैँची ३२ करोड ४० लाख रुपैयाँ, र प्लाइवुड तथा भिनियर २६ करोड ८० लाख रुपैयाँ रहेको छ।
त्यस्तै, सो अवधिमा काकडभिट्टा भन्सार पोइन्टमार्फत कृषि वस्तुको आयात १.६९ अर्ब रुपैयाँ बराबर भएको छ। मुलुकले सो अवधिमा कागती, दाल, चामल, ताजा तरकारी, फलफूल, लसुन, आलु, मकै र पशुचारा लगायतका वस्तु आयात गरेको छ।