काठमाडौं स्टिलको कारोबार पुनः उकालो

काठमाडाैं, २३ भदाै । केही वर्षयता मन्दीमा परेको नेपाली स्टिल उद्योग फेरि चलायमान बन्दै गएको छ। यसै क्रममा भाटभटेनी समूहका सञ्चालक तथा व्यवसायी मीनबहादुर गुरुङले प्रवद्र्धन गरेको काठमाडौं स्टिलले आफ्नो व्यापारिक प्रगति पुनः हासिल गरेको छ।
आर्थिक वर्ष २०८१/८२ को ९ महिनामै कम्पनीले २ अर्ब ३४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। यो गत वर्षको तुलनामा २८.८४ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा कम्पनीले १ अर्ब ८१ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो।
सन् २०२१ पछि लगातार घट्दै आएको व्यापार सन् २०२३ मा १ अर्ब ७० करोड ३० लाख रुपैयाँमा झरेको थियो। तर अहिले फेरि वृद्धि हुँदै चालु आवमा ३ अर्बभन्दा बढीको कारोबार गर्ने अनुमान गरिएको छ। कम्पनी सन् २००९ मा स्थापना भई २०१३ देखि व्यवसायिक उत्पादनमा आएको हो।
हाल कम्पनीले डण्डी र बाइन्डिङ तार उत्पादन गर्दै आएको छ। भारतबाट आयातित आइरन बिलेट प्रयोग गरेर उत्पादन गरिने सामान नेपाली बजारमा आपूर्ति हुने गर्दछ। कम्पनीसँग वार्षिक १ लाख ५० हजार मेट्रिक टन डण्डी उत्पादन गर्ने क्षमता छ।
उद्योगको मूल्य अभिवृद्धि बढाउन काठमाडौं स्टिलले हाल १ अर्ब ७७ करोड १० लाख रुपैयाँको लगानीमा अत्याधुनिक मेल्टिङ प्लान्ट निर्माण सुरु गरेको छ। यसमा ८० प्रतिशत कर्जा र २० प्रतिशत इक्विटी रहनेछ भने हालसम्म ११ प्रतिशत लगानी खर्च भइसकेको छ। बाँकी लगानीका लागि बैंकहरूसँग कर्जा प्रक्रिया अघि बढाइएको कम्पनी स्रोतले जनाएको छ।
कम्पनीले ४ अर्ब ६१ करोड १४ लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ। इक्रा नेपालका अनुसार दीर्घकालीन तर्फ २ अर्ब १७ करोड ६४ लाख र अल्पकालीन तर्फ २ अर्ब ४३ करोड ५० लाख रुपैयाँ कर्जाका लागि रेटिङ भएको हो।
कम्पनीमा भाटभटेनी समूहको प्रमुख लगानी रहेको छ। स्वामित्व संरचनाअनुसार २० प्रतिशत सावित्री घले (मीनबहादुर गुरुङकी पत्नी), १९ प्रतिशत मीनबहादुर गुरुङ र १८ प्रतिशत भाटभटेनी सुपरमार्केटको हिस्सेदारी छ।