Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

‘जेन जेड’ सडकमा : असन्तुष्टि अब प्रत्यक्ष आन्दोलनमा

‘जेन जेड’ सडकमा : असन्तुष्टि अब प्रत्यक्ष आन्दोलनमा

काठमाडाैं, २३ भदाै । लामो समयदेखि सामाजिक सञ्जालमा मात्र सीमित देखिएको युवापुस्ताको असन्तुष्टि आज राजधानीमा प्रत्यक्ष आन्दोलनमा परिणत भएको छ। नेपालका जेन जेड (Gen Z) पुस्ताले भ्रष्टाचार, कुप्रशासन र सामाजिक सञ्जालमा गरिएको प्रतिबन्धको विरोधमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन सुरु गरेका छन्।

राष्ट्रिय झण्डा बोकेर, देशभक्तिपूर्ण गीत गाउँदै र तीव्र नारासहितको प्लेकार्ड प्रदर्शन गर्दै युवाहरू सडकमा उत्रिएका थिए। सहभागीमध्ये कतिपय विद्यार्थीहरू विद्यालय र कलेजको पोशाकमै आन्दोलनमा देखिनु उल्लेखनीय रह्यो।

प्लेकार्डमा “जनताको पीडा चुलिँदै, नेताको खल्ती मात्र फूल्दै,” “भ्रष्टलाई जेन जेडको गर्जन,” “कर तिरेर कहाँ गयो?” “स्वतन्त्र आवाज हाम्रो अधिकार” र “भ्रष्टाचार बन्द गर” जस्ता सशक्त नाराहरू अंकित थिए।

आयोजकहरूले यो आन्दोलन कुनै राजनीतिक दल वा समूहसँग नजोडिएको स्पष्ट पारेका छन्। उनीहरूले यसलाई स्वतन्त्र, निष्पक्ष र जनमुखी आन्दोलनका रूपमा अघि बढाउने बताए। सहभागीहरूले सार्वजनिक सम्पत्ति, रुखबिरुवा जोगाउने, तोडफोड वा धम्की नदिने र पूर्ण अनुशासनमा रही नागरिक अधिकारको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस आन्दोलनलाई स्वतन्त्र युवादेखि विभिन्न पेशाकर्मी, कलाकार तथा केही राजनीतिक प्रतिनिधिहरूले समेत समर्थन जनाएका छन्। राजधानीको प्रदर्शनले ठूलो भीड ताने पनि रुपन्देही र दाङलगायतका जिल्लामा पनि युवाहरू सडकमा उत्रिसकेका छन्, जसले आन्दोलनको राष्ट्रिय विस्तारको संकेत गरेको छ।

आयोजकहरूले टिकटक र भाइबरजस्ता प्लेटफर्ममार्फत आन्दोलनका गतिविधि अपडेट गर्न आग्रह गरेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *