Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

प्रदीप पौडेलको आह्वान: अन्तरिम सरकार र संविधान सुधार आवश्यक

प्रदीप पौडेलको आह्वान: अन्तरिम सरकार र संविधान सुधार आवश्यक

काठमाडाैं, २६ भदाै । नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले २०८२ भदौ २३–२४ मा भएको GEN Z युवाहरूको भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहादत प्राप्त गरेका सबै सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेका छन्। उनले घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

पौडेलले आन्दोलनको क्रममा भएको बल प्रयोग, स्वार्थ समूहद्वारा सार्वजनिक र निजी सम्पत्तिमा गरिएको आगजनी तथा लोकतान्त्रिक संस्थामाथि गरिएको आक्रमणको घोर भत्सर्ना गर्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय स्वतन्त्र न्यायिक जाँच आयोग गठन गर्नुपर्ने माग गरेका छन्।

उनले वर्तमान राजनीतिक संकटको सामना गर्न राष्ट्रिय एकता, संयम र संवादको आवश्यकता औँल्याउँदै तत्काल अन्तरिम सरकार गठन र संविधान संशोधनमार्फत प्रणालीगत सुधारको प्रस्ताव अघि सारेका छन्। यसअन्तर्गत, जेन जीन आन्दोलनकारी, राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरूको समावेशीतामा संविधान सुधार समिति गठन गर्नुपर्ने उनी बताउँछन्।

पौडेलले भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग गठन गरी भ्रष्टाचारबाट कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने तथा दीर्घकालीन समाधानका लागि राज्यको पुनःसंरचना, संसद र स्थानीय तहको संरचना घटाउने, मन्त्रिपरिषद् र संवैधानिक निकायहरूको दक्ष पुनःसंरचना आवश्यक रहेको पनि औँल्याए।

उहाँले नेपाली कांग्रेसको आन्तरिक संरचना र नेतृत्वमा सुधार गरी नयाँ पुस्तालाई अवसर दिने, पार्टी नेतृत्वले राजीनामा गर्ने र ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने योजना अगाडि राखेका छन्।

पौडेलले देशलाई शान्ति, स्थिरता र समृद्धिको मार्गमा डोर्याउन सबै राजनीतिक दल, जेन जीन युवाहरू र नागरिक समाजसँग सहयोग र संवादको अपील गरेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *