इन्डिगो काठमाडौं उडान फेरि सुचारु, विशेष राहत फ्लाइटको व्यवस्था

काठमाडाैं, २६ भदाै । भारतीय बजेट एयरलाइन इन्डिगोले काठमाडौंका लागि आफ्ना नियमित उडान फेरि सुरु गरेको घोषणा गरेको छ। साथै, नेपालमा जारी अस्थिर परिस्थितिमा फँसेका यात्रुहरूलाई सहजै घर फर्किन सहयोग पुर्याउन विशेष राहत उडानको पनि व्यवस्था गरिएको छ।
एयरलाइनको आधिकारिक सूचना अनुसार, इन्डिगोले सेप्टेम्बर ११ देखि दैनिक चार नियमित उडान काठमाडौं आउजाउका लागि सञ्चालन गर्नेछ।
त्यसैगरी, सोही दिन दुई विशेष राहत उडान पनि सञ्चालन गर्ने योजना रहेको छ, जुन नियामक अनुमति अनुसार लागू हुनेछ। यी विशेष उडानमा यात्रुहरूले विशेष भाडामा टिकट बुक गर्न सक्नेछन्, जसले फँसेका यात्रुहरूलाई घर फर्किन सजिलो बनाउनेछ।
एयरलाइनले जारी गरेको वक्तव्यमा भनिएको छ, “काठमाडौंको असाधारण परिस्थितिमा हाम्रो प्राथमिकता तपाईंलाई तपाईंका प्रियजनसँग पुनर्मिलन गराउनु हो। तपाईंको सुरक्षा र मानसिक शान्ति हाम्रा प्रत्येक कदमको मूल प्राथमिकता हो।”
इन्डिगोले यात्रुहरूलाई अपडेट र टिकटिङसम्बन्धी सूचना आफ्ना आधिकारिक च्यानलमार्फतै हेर्न आग्रह गरेको छ।