कर्फ्यू खुल्दा राजधानीमा बिहानै भीड

काठमाडाैं, २६ भदाै । राजधानीमा कर्फ्यू आंशिक रूपमा खुकुलो बनाएपछि बिहान ६ बजेदेखि सर्वसाधारण अत्यावश्यक सामग्री किन्न सडकमा निस्किएका छन् ।
नेपाली सेनाले बुधबार रातिदेखि नै निषेधाज्ञा र कर्फ्यू केही घण्टाका लागि हटाउने निर्णय गरेपछि आज बिहानदेखि काठमाडौंका विभिन्न स्थानमा चहलपहल देखिएको हो ।
बिगमार्टसहितका किराना पसलहरू बिहानैदेखि खुलेका छन् भने खाद्यान्न, तरकारी र दैनिक उपभोग्य वस्तु किन्न मानिसहरूको भीड लागेको छ । औषधि पसलहरूमा पनि बिहानैदेखि लाम लागेका दृश्य देखिएका छन् ।
त्यस्तै, इन्धनको अभावका कारण कतिपय नागरिक पेट्रोल र डिजेल लिन भद्रकालीस्थित सेनाको रिपुमर्दिनी पेट्रोल स्टेशन पुगेका छन् । यो पेट्रोल पम्प हिजो पनि सञ्चालनमा आएको थियो र आज दिनभर खुला रहने जनाइएको छ ।
कर्फ्यू खुल्दा सर्वसाधारणले अत्यावश्यक वस्तु जोहो गर्न थालेसँगै बजारमा अस्थायी चहलपहल बढेको देखिएको छ ।